त्रिवि पुस्तकालय भवनको शिलान्यास



काठमाडौं ।

सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधारको केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भन्नुभयो–‘सरकारले उच्च शिक्षालाई आमूल रूपमा सुधार गर्ने संकल्प गरेको छ । उच्च शिक्षाको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया, त्रिभुवन विश्वविद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर त्रिभुवन विश्वविद्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्सी’को रूपमा अगाडि बढाउने गरी शिक्षा मन्त्रालय छलफलमा लागेको छ ।’

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माण भारत सरकारको पुनर्निर्माण परियोजनाअन्तर्गत अनुदान प्रणालीमा निर्माण हुन लागेको सबैभन्दा ठूलो लगानी भएको बताउनुभयोे । उहाँले नेपाललाई शिक्षा क्षेत्रमा भारतले ५ करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको जानकारी पनि दिनुभयो ।

पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल ४ लाख ३० हजार पुस्तक, ४ लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन र प्रतिवेदनहरू रहेको बताउनुभयो ।

पुस्तकालय निर्माण पछि घरमै बसेर २४ सैं घण्टा अध्ययन गर्न सकिने छ । पुस्तकालय अपांगमैत्री बन्ने बताइएको छ । केसी हनुमान जेभीले गत पुसबाट निर्माण आरम्भ भएको पुस्तकालयको लागत ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ रुपियाँ रहेको छ । पुस्तकालय भवन १५ महिनामा हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्