स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्दै एमाले



काठमाडौं, (नेस) ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय रूपमा नै घोषणापत्र तयार पार्ने भएको छ । एक हप्ताभित्र घोषणापत्र तयार गरेर आगामी ९ गते देखि शुरू हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने गरी घोषणापत्र लेखनको काम शुरू भएको छ । यसका लागि पार्टी सचिवालयको बुधवार बसेको बैठकले गत स्थानीय तहको लागि तयार पारेको घोषणापत्रको अध्ययन र आगामी घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा छलफल थालेको छ । केन्द्रले तयार पारेको मूल घोषणापत्रको आधारमा स्थानीय कमिटीले थप घोषणापत्र निर्माण गर्नसक्ने छन् ।

पार्टीको नीति अनुसन्धान विभागका प्रमुख वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल र उपमहासचिवहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कँडेल, पुनर्निर्माण प्राधिकरणका पूर्व निर्देशक सुशिल ज्ञवालीलगायतले घोषणापत्रको अवधारणाको बारेमा छलफल गर्नुभएको हो । घोषणापत्र लेखन समूहमा नगरपालिका महासंघका प्रमुख, गाउँपालिकाका महासंघका प्रमुख, इन्जिनियर, योजनाविद्, कानुनविद्लगायतको पनि सहभागी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले केन्द्रले मोटो घोषणापत्र तयार गरेर स्थानीय पाटी कमिटीलाई पठाइने बताउनुभयो । उहाँका अनुसार विगतको निर्वाचनको घोषणापत्रको समीक्षा र नयाँ समेट्नुपर्ने विषयमा केही प्रस्तावहरू तयार पारिनेछ । पाँच वर्षको अवधीमा स्थानीय तहमा देखिएका राम्रा पक्ष र सुधारका पक्षहरूलाई समेत समेट्नका लागि गाउँपालिका महासंघ र नगरपालिका संघका अधयक्षहरूलाई पनि बैठकमा डाकिएको उहाँले बताउनुभयो ।

अधिकारीले पार्टीले जनताको सेवालाई प्रमुख प्राथमिकता दिएर घोषणापत्र तयार गरिने र सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइने जानकारी दिँदै भन्नुभयो– ‘स्थानीय कमिटीले विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिँदै नागरिकलाई सेवासुविधा सहज रूपमा कसरी प्रवाह गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर घोषणापत्र तयार गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्