स्थानीय तह निर्वाचन : माओवादीले तालमेल गर्न टोली खटाउने

‘आगामी चुनाव जीवन मरणको सवाल’



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा गठबन्धनका घटकसँग चुनावी तालमेलका लागि आवश्यक पहल गर्न टोली गठन गरेर संघ, प्रदेश, जिल्ला र पालिकास्तरसम्म वार्ता र संवाद प्रक्रिया अगाडि बढाउन सबै तहका पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

फागुनको चौथो सातामा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माओवादीले सबै तहका पार्टी कमिटीलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन सर्कुलर जारी गरिसकेको छ । सर्कुलरमा वैचारिक राजनीतिक कार्यक्रमदेखि संगठनात्मक कार्यक्रमहरू समावेश गरिएको छ ।

सर्कुलरमा माओवादीले अभियान सञ्चालन गर्दा खास गरी व्यवस्थापकीय पक्ष, सूचना तथा सञ्चारसम्बन्धी कार्यक्रम, अध्ययन, सर्वेक्षण तथा विश्लेषण गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । त्यसै गरी सूचना, सञ्चार तथा प्रचारसम्बन्धी कार्यक्रमअन्तर्गत नगरपालिका, गाउँपालिका, वडा र टोलहरूमा सञ्चार तथा प्रसार शाखा इकाइ टोली गठन गर्ने र त्यसरी गठन भएका टोलीहरूलाई सूचना, सञ्चार तथा प्रचारको महत्व र विधिबारे प्रशिक्षित गर्न माओवादीले जोड दिएको छ । सर्कुलरमा सामाजिक सञ्जालमा प्रचार समूह निर्माण गर्दै अभियानका गतिविधिको व्यापक प्रचारप्रसार गर्ने नीति बनाउन निर्देशन दिनुका साथै महत्वपूर्ण सूचना तथा समाचार संकलन गर्न र त्यसको रिपोर्टिङ गर्न पनि मातहतका निकायलाई निर्देशन दिइएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय चुनावमा गठबन्धन गर्न आग्रह गरे पनि ‘पर्ख र हेर’को रणनीति अपनाइरहेको छ । कांग्रेसले ७७ वटै जिल्लाको प्रतिवेदन आएपछि मात्र चुनावी तालमेलको विषयमा निर्णय लिने बताएको छ ।

‘आगामी चुनाव जीवन मरणको सवाल’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन आफ्नो पार्टीको लागि जीवन मरणको सवाल भएको बताउनुभएको छ । उहाँले विदेशी शक्तिहरू नेपालमा ‘दुई पार्टी प्रणाली’ बनाउन षड्यन्त्रमा लागेको र परिवर्तनकारी पार्टीलाई सिध्याउने खेल भइरहेको बताउनुभयो ।

काठमाडौंमा बुधबार आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो– ‘आगामी निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश वा संघको होस्, त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचन मात्रै होइन, हाम्रो लागि जीवन मरणको लडाइँ भएर आउँदै छ ।’ प्रचण्डले गठबन्धनबाट आश गरेर ‘आउँला र खाउँला’ भन्ने पक्षमा पार्टी नभएको बताउँदै आफ्नै खुट्टामा उभिएर आफ्नै बलबुतामा चुनाव जित्ने गरी लाग्नुपर्नेमा जोड दिनुभयो ।

सेटिङ गरेर चुनाव जित्न कांग्रेस र एमाले नै सिपालु भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘विगतमा पार्टीका सम्पूर्ण शक्तिहरू आक्रामक ढंगले प्रस्तुत भएकाले नै चुनाव जितिएको हो । जालझेल र सेटिङमा पार्टीलाई विश्वास छैन ।’ पार्टीका नेता कार्यकर्तामा विचलन देखिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो ।’संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिन प्रतिदिन कम्युनिस्ट आन्दोलन विचलनतर्फ गएको आफूलाई महसुस भइरहेको जिकिर गर्दै प्रचण्डले क्रान्तिको कुरा गरिरहे पनि पार्टीमा बिस्तारै बुर्जुवाकरण भइरहेको बताउनुभयो ।

फरक प्रसंगमा प्रचण्डले केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकाहीँ दिक्क लाग्ने गरेको बताउँदै संसद् विघटनसम्म पुग्दा ओली जत्तिको खराब व्यक्तिसँगको सहकार्यप्रति घृणा लागेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा विघटन ओलीको एकल निर्णय नभएर देशभित्रका प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरूको समेत डिजाइनमा भएको टिप्पणी गर्नुभयो ।

उहाँले आफ्नो नेतृत्वमा भएको देशव्यापी प्रतिगमन विरोधी आन्दोलनको बलमा अदालतबाट संसद् पुनःस्थापना गराउन सफल भएको दाबी गर्दै भन्नुभयो–‘एमसीसी अनुमोदन नहुँदा प्रतिगामी ओली फेरि शक्तिमा आउने, कांग्रेस–एमाले गठबन्धन हुने र आफूहरूमाथि झन् ठूलो संकट आउने भएकाले व्याख्यात्मक घोषणाबाट अनुमोदनको बाटोमा गएका हौं ।’

प्रतिक्रिया दिनुहोस्