होलीमा सुरक्षा कडाइ, बिहानैदेखि मापसे चेकिङ



काठमाडौं ।

फागु पूर्णिमामा हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार प्रहरी परिचालित गरिँदै छ । काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले उपत्यकामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै समाचारपत्रसँग भन्नुभयो– ‘शान्तिपूर्ण रूपमा होली खोल्न सबैलाई आग्रह गरिएको छ । प्रहरीले होलीको दिन उपत्यकाको सुरक्षाको लागि करिब ४ हजार प्रहरी परिचालन गर्नेछ ।’ महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंमा करिब २ हजार ५ सय, ललितपुरमा ७ सय र भक्तपुरमा ४ सय प्रहरी परिचालित हुनेछन् । त्योबाहेक आवश्यकताको आधारमा थप प्रहरी परिचालन गर्ने तयारी पनि भएको छ ।

प्रहरी टोलीसँगै मापसे चेकिङका लागि मुख्य सडकमा ट्राफिक परिचालित हुनेछन् । यसैबीच, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रेस विज्ञप्ति जारी गरी सुरक्षा सावधानी अपनाएर शान्तिपूर्वक होली खोल्न आग्रह गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले करिब २ दर्जन स्थानमा मात्रै होली खेल्न आग्रह गरेको छ ।

प्रहरीले होलीमा विशेष रमझम हुने काठमाडौंका वसन्तपुर दरबारक्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबारक्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरेको छ । त्यस्तै तीनैवटा जिल्लाका पर्यटकीय क्षेत्र, ठूला सपिङमललगायतका स्थानमा सुरक्षा कडाइ गर्ने भएको छ । केही वर्षयता कोरोना भाइरसको महामारीका कारण होलीमा चहल पहल कम भएको थियो । कोरोना संक्रमण घटेसँगै यो वर्ष होलीमा बढी भिडभाड हुने भएकोले आवश्यकताको आधारमा प्रहरी परिचालन गर्ने योजना बनाइएको पनि प्रवक्ता राठौरले जानकारी दिनुभयो ।

होलीमा उपत्यकामा महानगरीय अपराध महाशाखाबाट सयभन्दा बढी सादा पोशाकमा खटाइने भएको छ । त्यसैगरी प्रहरीले सार्वजनिक गरेको होलीलक्षित सुरक्षा योजनाअन्तर्गत ४५ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सीआरभी) र करिब ८० वटा मोटरसाइकल गस्ती गरिने बताइएको छ । प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न पनि अनुरोध गर्दै कानुनविपरीत कुनै पनि काम गरे सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने चेतावनी दिएको छ । प्रहरीले पर्यटकमाथि अभद्र व्यवहार नगर्नसमेत आग्रह गरेको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको जनाएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीलाई बुधबार ब्रिफिङसमेत गर्नुभएको छ । ‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणहरूको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौं’, एसएसपी उमेशराज जोशीले भन्नुभयो– ‘बिहानैदेखि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिनेछ ।’

उच्छ्रृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ शुरू गर्ने भएको छ । फागु पूर्णिमा (होली) को शुभकामनासहित दुर्घटनारहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन ट्राफिक महाशाखाले विशेष अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्