प्रकाशको पिरलाई ताली र गाली



यक प्रकाश सपूतको गीतिकथा पिरले सार्वजनिक भएको केही समयमै ट्रेन्डिङ नम्बर एकमा परेसँगै एकसाथ गाली र ताली पाएको छ। माओवादी द्वन्द्वकालमा सँगै लडाइँ लडेको र जनवादी विवाह गरेको एक जोडीको अवस्थालाई कथा बनाइएको गीतको भिडियोमा द्वन्द्वमा घाइते भएका एक व्यक्ति मासु पसल खोलेर जीवन गुजारा गरिरहेका हुन्छन् भने उनीसँगै लड्ने उनकी श्रीमतीको शरीरमा गोलीको दाग आलै छ।

सँगै युद्ध लडेका अन्य व्यक्तिहरू राजनीतिक ओहदामा पुगेर कारमा हुइँकिँदै विलासी जीवन बिनाइरहेको बेला ती व्यक्ति भने चप्पल लगाएर सडकमा हिँडिरहेका हुन्छन् र दैनिक गुजारा गर्न समेत धौ–धौ हुन्छ। तर, उनी देश छोडेर कहिँ पनि जान चाहँदैनन्। यसै कारण उनकी श्रीमती भने छोरी र श्रीमान् छोडेर विदेश जान्छिन्। एकदिन उनले जनयुद्धको पूर्व सहयोद्धा महिला देहव्यापारमा संलग्न भएर गुजारा गरिरहेको भेट्छन्।

गीतिकथाको यहि प्रसंगलाई लिएर माओवादी नेता, माओवादीका भातृ संगठन तथा कार्यकर्ताले विरोध जनाएका छन् भने कतिपयले धम्कीसमेत दिएका छन्। माओवादी केन्द्रकी सांसद सत्या पहाडीले फेसबुकमा एक स्ट्याटस लेख्दै चुनावको मुखैमा आएर प्रकाशले जनयुद्धको उपलब्धिलाई दिग्भ्रमित पार्दै वीरता सहस र बलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीरविरांगनाको इतिहासको अपमान गरी गीतिकथा सार्वजजिनक गरेर परिवर्तन विरोधी मतियार बनेको आरोप लगाएकी छन्।

नेकपा माओवादी केन्द्रकी कोषाध्यक्ष कोपिला कुँवरले गीतले जनयुद्धको क्रममा देश र जनताका लागि आफ्नो जीवन अर्पित गर्ने सम्पूर्ण महिला कमरेडमाथि चरित्र हत्या गरेको भन्दै भत्सर्ना गरेकी छन्। ‘देशमा स्थापित गणतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायतका स्थापित उपलब्धि लडेर ल्याउने हजारौं माओवादी महिला छापामार कमरेडलाई यौन व्यवसाय गरेको भन्ने आसयको भिडियो बनाई गरिएको कार्य अत्यन्तै आपत्तिजनक छ। यसको घोर भत्र्सना गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्। त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले सपूतलाई खुलेआमा राजनीतिमा आउन र कसैको उक्साहटमा माओवादीविरुद्ध प्रयोग हुनुभन्दा खुलेआम राजनीतिक प्रतिस्पर्धामा आउन चुनौती दिएका छन्। उक्त गीत माओवादी जनयुद्ध र महिला जनमुक्ति सेनालाई अपमानित गरेर बनाइएको भन्दै गीत हटाउन उनले माग गरेका छन्।

माओवादी विद्यार्थी सगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले पनि उक्त गीत यूट्युबबाट हटाउन चेतावनी दिएकी छन्। ‘महान् जनयुद्धको कारण केही थान मन्त्री ,माननिय र टाठा बाठाको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर छ। सहिद परिवार, बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको ब्यवस्थापनमा नेतृत्व बेखबर भने छैन। कतिपय प्रयत्न सफल हुन सकेका छैनन्। व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन। तर, व्यवस्थापन हुन नसकेका जटिलता देखाएर जनयुद्धमा सहभागी महिला शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरि प्रकाश सपूतजीले युट्युबमा अपलोड गरेको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ। तपाईंको पिर नामक भिडियो सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु’ उनले फेसबुकमा लेखेकी छन्।

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले भने प्रकाशको भिडियोमा देखाइएको जस्तो पात्र आफूले भेटाइदिने जनाएकी छन्। त्यसैगरी, भिडियोमा सो पात्रको भूमिकामा उत्रिएकी माओवादी जनवादी कलाकार केशु पुनले जीविकोपार्जनका लागि रक्सी खाएका मानिसका बीच रेस्टुराँमा नाच्न बाध्य भएको जनाउँदै भनेकी छन् ‘१६ मिनेटको भिडियोमा पाँच सेकेन्डको दृश्यले तपाईंहरू डराउने? १५ वर्षसम्म सत्तामा बस्दा पनि अझ व्यवस्थित गर्न सकेन र अन्तक्र्रिया गर्दैछौँ भन्न मिल्छ र?’

किन धम्क्याउने? : बाबुराम
जनयुद्धका प्रमुख पात्रमध्येका एक जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराई लेख्छन् ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा केही छैन। गीतले जनयुद्धको विरोध गरेको छैन।

अपूर्ण क्रान्तिका कुरा दर्शाइएको छ। त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो, गीतको सर्जकलाई किन धम्क्याउने?’

उत्तेजित हुनु पर्दैन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धनगढीमा पत्रकारहरूसँगै कुराकानी गर्दै सो गीतलाई लिएर कोही उत्तेजित हुन नपर्ने बताएका छन्। ‘मैले पूरै गीत त हेर्न भ्याएको छैन। तर, अहिले हामी कोही उत्तेजित हुनुपर्ने छैन। तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्।

त्यसलाई सहज र स्वभाविक रूपले लिनुपर्छ’ माओवादीका केही नेताका साथमा भातृ संगठन वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले सो गीत युट्युबबाट हटाउन धम्की दिइरहेका बेला प्रचण्डको संयमित भनाइ थियो।

पात्रलाई भेटेर भिडियो बनाएको हुँ : प्रकाश
प्रकाशले भने कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखी केही पात्रसँग भेटेपछि प्रतिकात्मक रूपमा दृष्य निर्माण गरी भिडियो बनाएको उल्लेख गरेका छन्। ‘सबैको अपेक्षाअनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। गीतले भन्ने चाहेको कुरा अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आप्mनो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ।

मैले गल्ती गरेको हो कि, तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु। पिरबाट मैले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हुँ’ भिडियोबारे टिका टिप्पणी भइरहेपछि प्रकाशले सोमबार फेसबुक पेजमा लामो स्ट्याटस लेख्दै भनेका छन् ‘समानताको लागि एकसाथ लडेका कमरेडबिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं। एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हौँ। यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रममा हेर्दै आएको होइन र? पत्र–पत्रिकामा लेखिँदै/पढिँदै आएको होइन र? छर्लंगै देखिएका, स्विकारिएको विषय होइन र?’

उनले प्रस्टाउने क्रममा लेखेका छन् ‘६ वर्षअघि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/पकाउने/पस्कने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए। उनीहरू चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतीकात्मक रूपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो पिर। यो बीचमा मैले यस्ता पात्रको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ। केही पात्रसँग भेटेर कुराकानी पनि गरेँ। केहि पात्र पढेँ। आम मानिसका भोगाइ र संवेदनाहरु बुनेँ र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यही हो।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो। प्रतिकात्मक रूपमा राखिएका यस्ता दृष्यले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु। भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अथ्र्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ। यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु। कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौँ। तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्न छन्। प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस्।’

प्रकाशकै शब्द संगीतमा तयार पारिएको गीतमा उनका साथमा सम्झना भण्डारीको स्वर छ। प्रकाशकै निर्देशन र परिकल्पनामा बनेको भिडियोमा उनीसँगै सुरक्षा पन्त र केशु पुनले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्