नेपालको पर्यटन प्रवर्द्धनमा व्यस्त इटालीका माम्बेर्टो



काठमाडौं ।

‘फिनाले फर नेपाल’…नझुक्किनुहोला, यो कुनै खेल वा ‘रियालिटी सो’ को प्रचार होइन । बरू इटालीका कार्लो माम्बेर्टोले आफ्नो जन्मस्थल इटालीको एक सुन्दर पर्यटकीय नगरी फिनालेको सम्झनामा नेपालमा स्थापना गरेको एउटा सामाजिक संस्थाको नाम हो ।

झन्डै १४ वर्षदेखि नेपालमा बसिरहेका उहाँले यही संस्थामार्फत थुप्रै सामाजिक कार्यसमेत गर्दै आउनुभएको छ । विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नेदेखि पर्यटकीय क्षेत्रको फोहोर संकलन गर्नेलगायतका अभियान चलाउँदै आएका माम्बेर्टो नेपालमा पनि फिनालेमा झैं वर्षेनी लाखौं पर्यटक भित्र्याउन चाहनुहुन्छ । नेपालजस्तै चट्टानयुक्त अग्ला पहाडहरू भएको फिनालेमा पर्यटकहरू ट्रेकिङ गर्न मन पराउँछन् । त्यहाँ बाइकिङ ट्रेलहरू छन्, रक क्वाइम्बिङ गर्न सकिन्छ ।

समुद्री सतहसँग जोडिएको भूभागसमेत भएकाले डुङ्गा खियाउन, पौडी खेल्न, स्नोर्कलिंग र सनबाथिङ गर्न आइरिने पर्यटकहरू रातको समयमा समुद्री तटमा रहेका डिस्कोहरूमा रमाइलो गर्छन् । त्यही सुन्दर पर्यटकीय शहरका माम्बेर्टो नेपालमा पनि त्यसै गरी पर्यटन क्षेत्रको विकास होस् भन्ने चाहना राख्नुहुन्छ । ३० वर्षको जोसिलो उमेरमा नेपाल आएका ४४ वर्षीय माम्बेर्टो आफू नेपालको मोहनीमा लठ्ठ परेको बताउँदै भन्नुहुन्छ– ‘यतै रमाइलो लाग्छ । नेपाल एक जादुमयी देश हो । यहाँ सबथोक छ ।’

बहिरा आमाबाबुबाट जन्मेका सन्तान भए तापनि उहाँ बोल्न र सुन्न सक्नुहुन्छ । यहाँको पर्यटन क्षेत्रको विकासका लागि सबै लाग्नुपर्ने धारणा राख्ने उहाँले नेपालमा आफूले रक क्लाइम्बिङ, हिउँमा चिप्लेटी खेल्ने ‘स्की’लगायतका साहसिक खेलको सम्भावना खोजी गरेको बताउनुभयो । आफूले शुरू गरेको रक क्लाइम्बिङ नगरकोटमा सञ्चालन भइरहेको जिकिर गर्दै उहाँले नेपालमा त्यस्ता साहसिक खेल शुरू गराएको मात्र नभई नेपालीलाई समेत सिकाएर दक्ष बनाउने गरेको बताउनुभयो ।

हालसम्म हजारौं इटालियन पर्यटकलाई नेपाल भ्रमण गराइसकेका माम्बेर्टोको अबको योजना पनि नेपालमा धेरैभन्दा धेरै इटालियन पर्यटक भित्र्याउन सहयोग गर्ने नै हो । उहाँले युरोपभरका बहिरा र बोल्न नसक्ने व्यक्तिहरूलाई समेत नेपाल भ्रमण गराइसक्नुभएको छ ।

कोरोना महामारीको समयमा नेपालमा हजारौं व्यक्तिलाई निःशुल्क खाना खुवाएका माम्बेर्टोले यहाँका छाडा कुकुरलाई उद्धार गरी इटली पठाउने कामसमेत गर्नुहुन्छ । माम्बेर्टोसँग सहकार्य गरिरहेका नेपाली पर्यटन व्यवसायी अच्युत गुरुङका अनुसार यो उमेरमा पनि कार्लो एक्लै छन् । ठट्टा गर्दै गुरुङ भन्नुहुन्छ– ‘कार्लोलाई नेपालको मायाले यसरी तानेको छ कि उनले आफ्नो सबथोक नेपाललाई ठाने । उनलाई नेपालको मायाले यसरी तानेको छ कि उनले कुनै प्रेमिकासमेत बनाउने फुर्सद पाएनन् ।’

यति धेरै सामाजिक कार्य गरेर पनि प्रचार गर्न नचाहने स्वभावका कारण गुमनाम बनेका माम्बेर्टोलाई राज्यले चिन्नुपर्ने धारणा राख्दै पर्यटन व्यवसायी गुरुङ भन्नुहुन्छ– ‘कुनै विदेशी यसरी नेपाललाई चिनाउन अहोरात्र खटिरहेको छ । यस्ता व्यक्तिलाई राज्यले चिन्नुपर्छ । उनलाई पर्यटन दूत बनाएर विश्वभर नेपालको पर्यटनबारे थपप्रचारप्रसार गर्न आवश्यक छ ।’
पर्यटन क्षेत्रमा सक्रिय यस्ता व्यक्तिहरू साथमा लिएर हिँड्न सके कोरोना महामारीका कारण थिलथिलो बनेको नेपाली पर्यटन व्यवसायलाई उकास्न सरकारलाई राहत पुग्ने अर्का व्यवसायी टीकाराम नेपाली बताउनुहुन्छ ।

नेपालको पर्यटनसम्बन्धी कानुन र पर्यटकीय क्षेत्रहरूको व्यवस्थापनबारे सरकारले गम्भीर बन्नुपर्ने जिकिर गर्दै उहाँ भन्नुहुन्छ– ‘विदेशी पर्यटकलाई महँगो शुल्क तोकिएको छ । तर, सो क्षेत्रमा उनीहरूको सुरक्षा र सुविधाका लागि पनि सरकारले पहल गर्नुपर्छ । साथै नेपाली पर्यटन मजदुरका बारेमा समेत सरकार गम्भीर बन्नुपर्छ ।’पर्यटन व्यवसायीहरूले ‘दिगो पर्यटन’को माध्यमबाट नेपालको पर्यटन क्षेत्र उकास्नेबारे नीतिगत रूपमै सरकारको सहयोगको अपेक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्