कानुनी अड्चन संशोधनका लागि पहल गर्ने प्रतिबद्धता



काठमाडौं, (नेस) ।

गृहमन्त्री बालकृष्ण खाँणले मानव अंग प्रत्यारोपणमा भएका कानुनी अड्चन संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व मिर्गौला दिवस सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा किस्ट र नेपाल कला परिषद्ले सोमबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मिर्गौला दिवसका दिन स्वास्थ्य मन्त्रालयले ल्याएको अंगदान प्रस्ताव मन्त्री परिषद्ले पारित गरिसकेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘शुरूका दिनमा रक्तदान पनि यस्तै कठिन थियो । स्व. गिरिजाप्रसाद कोइरालाले पहिलोपटक रक्तदान गरेपछि हामी सबैलाई प्रोत्साहन मिल्यो र हामीले पनि रक्तदान गर्यौं । त्यसै गरी अंगदानका लागि प्रधानमन्त्रीबाटै शुरू गर्दा सबैलाई प्रेरणा मिल्नेछ ।’ हुनेले खर्च गरेर जीवन बचाउने तर नहुनेले अकाल मृत्युवरण गर्नुपर्ने बाध्यता कायमै रहेको टिप्पणी गर्दै उहाँले यस्तो अवस्थाको अन्त्यका लागि सरकार र नागरिक सबैले सोच्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री खाँणले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा योगदान गर्ने चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा दिव्यासिंह शाह, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. ऋषिकुमार काफ्लेलाई कदरपत्र तथा दोसल्ला र पुष्प गुच्छाद्वारा सम्मान गर्नुभयो । सोही अवसरमा किस्ट अस्पतालमा अंग प्रत्यारोपण गरेका दाताहरूलाई सम्मानस्वरूप मायाको चिनो पनि प्रदान गर्नुभयो । कार्यक्रममा २० जना कलाकारहरूलाई प्रमाणपत्र तथा किस्ट हेल्थ भौचर प्रदान गर्नुभएको थियो । सोही अवसरमा नेपाल कला परिषद्लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल कला परिषद्का अध्यक्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, सम्मानित व्यक्तित्व प्रा.डा. दिव्या सिंह शाह, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, सांसद नवराज लम्साल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल, अस्पतालका निर्देशक प्रा.डा.सुरज वज्राचार्यलगायतले मिर्गौलाको महत्व र यसलाई जोगाउन जनचेतना जगाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्