बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा स्थानीयको अवरोध



काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सिमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन् । विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेको बेला स्थानीयले अवरोध गरेका हुन् ।

पटक–पटक काठमाडौं महानगरपालिका र सरकारले सहमति गरेर पनि जाजय माग पूरा नगरेको भन्दै स्थानीयले निर्माण कार्य नै प्रभावित पारेका छन् । एक साताअघिबाट काम रोकिँदा समयमै ल्यान्डफिल साइट बन्नेमा आशंका थपिएको छ ।

स्थानीयले ओखरपौवाको सिसडोलकोजस्तै अवस्था बन्नबाट रोक्न र बन्चरेडाँडामा व्यवस्थित रूपमा फोहोर फ्याँक्ने ग्यारेन्टी गर्नुपर्ने माग अघि सारेका छन् । स्थानीयको अवरोधको कारण बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल टु र ड्याम निर्माणको काम ठप्प भएको छ । निर्माण व्यवसायी खुल्ने आशामा बसेका छन् भने स्थानीयले काम ठप्प पारेर मन्त्रिपरिषद्ले गरेको निर्णयको पूर्ण पाठको प्रतिक्षामा बसेका छन् ।

गत साता मन्त्रिपरिषद्को बैठकले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षमा सम्बन्धित मन्त्रालयका सचिवहरू रहने उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठन भए पनि काम अघि बढन सकेको छैन । समितिलाई आफूहरूले उठाएको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले स्थानीयले निर्माणको काममै अवरोध सिर्जना गरेका हुन् ।

धुनिबेंसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले पटक–पटक काठमाडौं महानगरपालिका र सरकारले गरेको सहमति कार्यान्वयन नभएकाले काममा स्थानीयले अवरोध गरेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सहमति गर्ने, प्रभावित क्षेत्रलाई जनतालाई झुक्याउने काम मात्र हुँदै आएको छ, बन्डरेडाँडामा फोहोर फ्याक्नु अघि पुराना माग सम्बोधन गर्नको लागि हामीले माग राखेका छौं ।’ उहाँले नयाँ माग केही पनि नरहेको बताउँदै सधैं पेलेरै अगाडि बढ्ने सरकारको नीतिविरुद्ध अहसमति राखिएको बताउनुभयो ।

सरकारले हाल निर्माण भइरहेको बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रमा १७ सय ८१ रोपनी जग्गा अधिग्रहण गरेको छ । स्थानीयले २०६२ देखि हालसम्म दर्जनौंपटक सहमति गरे पनि कार्यान्वयमा ध्यान नदिएको आरोप लगाएका छन् ।, उपत्यकाको काठमाडौं महानगरपालिकाबाहेक बाँकी १७ वटा स्थानीय तहको दायित्वको विषयमा पनि स्थानीयले प्रश्न उठाएका छन् ।
बन्चरेडाँडा ल्यान्डफिल साइट आयोजनाका प्रमुख रामचन्द्र दंगालले स्थानीयले अवरोध गर्दा एक सातादेखि काम बन्द रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विभागले त निर्माणको काम मात्र गर्ने हो, सञ्चालन र व्यवस्थापन गर्ने काम काठमाडौं महानगरपालिकाले गर्छ, स्थानीयको समस्या समाधान गर्न सरकारले समिति नै गठन गरिसकेको छ, काममा अवरोध हुँदा समयमै सम्पन्न गर्न कठिनाइ हुनेछ ।’

दुई साताअघि शहरी विकासमन्त्री झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल साइटको स्थलगत निरीक्षण गरेर समयमा नै काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । निर्माण व्यवसायीले यही चैत्र मसान्तमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि स्थानीयको अवरोधका कारण काम झन प्रभावित बन्न पुगेको छ ।

हाल ल्यान्डफिल साइटको सेल वान सम्पन्न भइसकेको छ । सेल वानमा फोहोर फ्याँक्न शहरी विकास तथा भवन निर्माण विभागले काठमाडौं महानगरपालिकालाई पत्राचारसमेत गरिसकेको छ । सेल टु अन्तिम चरणमा रहेको छ भने ड्याम निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको दंगालले बताउनुभयो ।

स्थानीयले मन्त्रिपरिषद्ले गठन गरेको समितिले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मात्र काम चालु गर्न दिने अडान अघि सारेका छन् । काम ठप्प हुँदा ल्यान्डफिल साइटमा सयौं कामदार कामविहीनको बन्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्