कांग्रेसले जनताको राय सुझावका आधारमा गठबन्धनबारे निर्णय लिन्छ : सिंह



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताउनुभएको छ । नेपाली कांग्रेसले शुरू गरेको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ एकमहिने कार्यक्रमअन्तर्गत सोमबार मीनभवनमा आयोजित कार्यक्रममा उहाँले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे पार्टीले निर्णय लिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘कांग्रेस एकमहिने अभियान लिएर जनताको घरदैलोमा गएको छ, जनता र पार्टीका कार्यकर्ताले दिएको राय, सुझावलाई लिएर कांग्रेसले स्थानीय तहको निर्वाचनमा अरू पार्टीसँग गठबन्धन गर्ने वा नगर्नेबारे निर्णय लिन्छ ।’

नेता सिंहले अहिलेको गठबन्धनको निर्माण कांग्रेसको रहर नभई बाध्यता भएको भन्दै संविधानलाई सही दिशामा लैजानका लागि सरकारले काम गर्ने बताउनुभयो । आम नागरिकले सहजरूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन परेको उहाँको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले अमेरिकी सहयोग सम्झौता (एमसीसी) का बारेमा विभिन्न राजनीतिक दलले जनतामा भ्रम छर्ने काम गरेको भन्दै एमसीसीका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

कांग्रेसको सबै जिल्ला अधिवेशन सम्पन्न
गत मंसिर अन्तिम साता केन्द्रीय महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसको १६ जिल्ला अधिवेशन आइतबार मात्र सम्पन्न भएको छ । बाँकी १६ जिल्ला अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेसको ७७ जिल्लाले नै नयाँ नेतृत्व पाएको छ ।

आन्तरिक विवादका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी थियो । केही दिन अघिदेखि अधिवेशन शुरू भएको यी १६ जिल्लामध्ये अन्तिममा आइतबार बारा, सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएको थियो ।
गुटउपगुटमा विभाजित कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धामा संस्थापन पक्ष र संस्थापन इतरपक्ष भन्दै प्रतिस्पर्धा भएको थियो । केन्द्रदेखि वडा तहसम्म कांग्रेसभित्र गुट मौलाएको छ । जिल्ला अधिवेशन सम्पन्न भएसँगै कुन पक्षको कुन जिल्लामा नेतृत्व आयो भन्ने चर्चा पनि छ । गुटगत हिसाबमा जिल्ला सभापतिहरूमा संस्थापन पक्षको ४६ र संस्थापनइतर पक्षको ३१ जिल्लामा सभापति विजयी भएका छन् । संस्थापनइतर पक्षको नेतृत्व अहिले डा. शेखर कोइरालाले गरिरहनुभएको छ ।

संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, सुनसरी, मोरङ, सिन्धुली, दोलखा, नुवाकोट, धादिङ, चितवन, गोरखा, सप्तरी, प्युठान, अर्घाखाँची, रोल्पा, कालिकोट, रूकुमपूर्व, मुस्ताङ, नवलपुर, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, दाङ, दैलेख, कपिलवस्तु, बाँके, बैतडी, बाजुरा र दार्चुलामा डा. कोइराला पक्षको नेतृत्व रहेको छ । बाँकी जिल्ला सभापति संस्थापन पक्ष विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्