विद्यालयको जग्गा व्यक्तिलाई बेच्ने २० जनाविरुद्ध मुद्दा दायर



काठमाडौं ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा गैरकानुनी रूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्व मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो । तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरुलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैरकानुनीरुपमा बिक्री वितरण गरेको खुलेको अख्तियारले उल्लेख गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैंले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनीरुपमा भोगचलन गर्नेगरी बिक्री गरेको पाइएको अख्तियारले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी, सदस्यहरु घनश्याम बानियाँ, हरि कुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँले १ लाख ६९ हजार ५१ रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसूर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्