एमालेले लोकतन्त्र र गणतन्त्रकै खिल्ली उडायो : मुख्यमन्त्री केसी



बुटवल, (नेस) ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संसद् अवरोध गरेर एमालेले लोकतान्त्रिक संस्कार विर्सेको टिप्पणी गर्नुभएको छ । हाट बजार व्यवसायी संघ रूपन्देहीको १६औं साधारणसभा तथा ९औं अधिवेशनलाई आइतबार बुटवलमा सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।

संघीय संसद्मा विपक्षी एमालेले लामो समयदेखि संसद् अवरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको मुख्यमन्त्री केसीको भनाइ छ । एमालेले आफू भए ठीक नभए बेठीक भन्दै संसद् अवरुद्ध गरेर लोकतन्त्र र गणतन्त्रकै खिल्ली उडाएको उहाँले बताउनुभयो ।

संविधानले ५ वर्षसम्म संसद् विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै केसी भन्नुहुन्छ– ‘केपी ओलीले संसद् विघटन गरेर संविधानलाई नै लत्याउने काम गर्नुभयो ।’ विपक्षी दलले देशलाई बन्धक बनाएको आरोप लगाउँदै लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरूप काम गरेको दाबी उहाँको छ ।

त्यस्तै, मुख्यमन्त्री केसीले हाटबजारमा समाजका सबै नागरिकको पहुँच हुने भएकाले यसलाई व्यवस्थितरूपमा सञ्चालन गनुपर्नेमा जोड दिनुभएको थियो । ‘हरेक क्षेत्रमा श्रम गर्ने श्रमिकले श्रमको उचित मूल्य पाउनुपर्छ ।’ –उहाँले भन्नुभयो । हाटबजारमा सानो व्यवसाय गरी दैनिकी चलाइरहेका साना व्यवसायीको हितका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको केसीको कथन छ ।

त्यसै गरी, जिल्ला समन्वय समिति रूपन्देहीका संयोजक एकराज विश्वकर्माले जिल्लाका १६ वटै पालिकामा सञ्चालित हाटबजारलाई व्यवस्थित गर्ने काम भइरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्