कांग्रेस सिन्धुपाल्चोक सभापतिमा तामाङ, सर्लाहीमा सिंह विजयी



काठमाडौं ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन् । दाेस्राे चरणकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन् । कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएकाे निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए ।

यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएकाे थियाे । प्रेमध्वज लामा पहिलाे चरणबाट बाहिरिएका थिए । पहिलो चरमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए । तर पनि उनले जित हात पार्न सकेनन् ।

कांग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह
नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएकाे हाे ।

सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।

उपसभापतिमा भने संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए । उपसभापतिमै संस्थापनबाट डा. सरोज कुमार (राजु) १ हजार ७६४ मतसहित विजयी भएका छन् ।

सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए । सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन् ।

कांग्रेस अधिवेसनका जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई ज्ञापन गरे । सदस्यको मतगणना भने होलीपछि हुने छ । यद्यपि निर्णय भइसकेकाे छैन । यस विषयमा सोमबार दुवैपक्षसँग छलफल हुने निर्वाचन अधिकृत सिंहले बताए । कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत गत शनिबार मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्