भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको तयारी



काठमाडौं ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलमा चाँडै अन्तर्राष्ट्रिय उडान–अवतरण गर्नका लागि काम अगाडि बढाउन निर्देशन दिनु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले ४१ दिनपछि उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको जनाएको छ ।

उक्त विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान–अवतरणका लागि मन्त्री आलेले चासो दिँदै आएपछि नागरिक उड्डयन प्राधिकरण पनि उडान–अवतरणको कामका जुटेको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गएको बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले अबको ४१ दिनपछि उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्न सकिने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीपकुमार अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भैरहवामा ४१ दिनमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी काम शुरू भएको छ, सम्भवतः तोकिएकै समयमै काम शुरू गर्छौं । पछिल्लो सयम नेपाल नागरिक उड्डयन प्राधिकरणको भैरहवा विमानस्थल सञ्चालनको तयारीका लागि आवश्यक पर्ने काममा ध्यान केन्द्रित भएको र गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाइ स्माइलले उडान गर्ने आशय देखाएको महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले अब सहजै अनुमति पाउने भएका छन् । सो एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन् ।

विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्नेनसक्नेबारे जानकारी पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार अब चाँडै गौतम बुद्ध विमानस्थलमा बोइङ तथा एयरबसका जहाजहरूले उडान भर्ने र अवतरण गर्ने निश्चित भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गरी जेठ २ गते अर्थात् बुद्ध पूर्णिमादेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको बताइएको छ ।

उक्त तयारीअनुसार विमानस्थलले अबको कम्तीमा पनि दुई साताभित्रै नागरिक उड्डयन सङ्गठन (आईकाओ) को सर्टिफिकेटसमेत पाउने अपेक्षा अनुसार अन्तर्राष्ट्रिय उडानको तयारी शुरू भएको नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्