देउवाको गृहजिल्लामा चुनाव बहिष्कार गर्ने चेतावनी



डडेल्धुरा ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसभित्रको विवाद बढ्दै गएको छ । स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा पार्टी एकतावद्ध हुनेगरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन् । १४औं राष्ट्रिय महाधिवेशन अघि सम्पन्न सातौं जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताहरूले पार्टीलाई एकताबद्ध बनाउन दबाब दिँदै आएका छन् ।

सातौं जिल्ला अधिवेशनका क्रममा क्रियाशील सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियाशील सदस्यहरूको सदस्यता बिनाकारण नवीकरण नगरिएको भन्दै तत्कालीन जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता विवाद नटुंगिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको सहयोगमा एकपक्षीय रूपमा जिल्ला अधिवेशन सम्पन्न गर्दै नेपाली कांग्रेस डडेल्धुराको सभापति बनेका परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साँउदले पार्टी एकतावद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि हाल एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन हुन थालेपछि फेरि असन्तुष्टि बढ्न थालेको हो ।

नेपाली कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सञ्चालन गरिरहेको अवस्थामा एकलौटी रूपमा चुनावी अभियान सञ्चालन गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरूले बहिष्कार गर्ने चेतावनी दिएका छन् । शनिबार परशुराम नगरपालिकाको जोगबुडामा भेला भएका नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन गरिन थालिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

नगर प्रमुख तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति साँउदले सातौं जिल्ला अधिवेशनको प्रारम्भदेखि नै पार्टीको विधानविपरीत कामगर्दै इमान्दार नेता कार्यकर्ताहरूलाई पेलेर एकपक्षीय रूपमा जिल्ला सभापति भएको र हाल जिल्लास्तरीय नेता कार्यकर्ताहरूको ठूलो हिस्सा असन्तुष्ट रहेको अवस्थामा एक पक्षीय रूपमा चुनावी अभियान घोषणा गरिएकाले अगामी चैत ५ गते वडास्तर र ८ गते पालिकास्तरमा हुने चुनावी अभियानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

नेपाली कांग्रेस डडेल्धुराका पूर्व उपसभापति धर्मानन्द भट्टको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले पार्टी एकतावद्ध बनाउनका लागि नेतृत्वलाई दबाब दिने उद्देश्यले संघर्ष समितिसमेत गठन गरेको छ । पूर्वउपसभापति भट्टको संयोजकत्वमा गठित संघर्ष समितिका सदस्यहरूमा प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार गोपा थापा, नेपाली कांग्रेस डडेल्धुराका पूर्वसदस्य तथा परशुराम नगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी, भोजराज बोहरा, रामसिंह ऐर, दानबहादुर साँउद र राजबहादुर भण्डारी सदस्य छन् ।

संघर्ष समितिले पार्टीलाई एकतावद्ध बनाएर स्थानीय तहको निर्वाचनमा होमिनका लागि नेतृत्वलाई दबाब दिन संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने संयोजक भट्टले बताउनुभयो । उनले पार्टीभित्र इमान्दार नेता कार्यकर्ताहरूलाई पन्छाउन खोजिएकाले पार्टी एकतावद्ध नहुन्जेलसम्म वर्तमान जिल्ला कार्यसमतिले अघि सारेका हरेक कार्यक्रमहरू बहिष्कार गरिने जानकारी दिनुभयो ।

नेपाली कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन घर घर जाऔं, कांग्रेस जिताऔं अभियान एकपक्षीय रूपमा सञ्चालन गर्न थालेको छ । फागुन २९ गते देखि चैत २९ गते एक महिनासम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न कांग्रेस केन्द्रीय समितिको निर्देशन छ ।

डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तहमा चैत ८ गते एकै समयमा हुने चुनावी सभाका लागि प्रतिनिधिहरू तोकिएका छन् । दुई वटा नगरपालिकामध्ये परशुराम नगरपालिकामा सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दराज बोहरा र अमरगढी नगरपालिकाका लागि वर्तमान जिल्ला सभापति एवं परशुराम नगरप्रमुख साउँद प्रतिनिधि तोकिएका छन् ।

यस्तै, भागेश्वर गाउँपालिकामा जिल्ला कार्यसमिति उपसभापति लक्ष्मीप्रसाद अवस्थी, अजयमेरू गाउँपालिकामा जिल्ला कार्य समिति सचिव हेमराज चटौत, नवदुर्गा गाउँपालिकामा सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति डिल्लीराज जोशी र आलिताल गाउँपालिकामा पूर्व सभापति रघुवर भट्ट प्रतिनिधि तोकिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

स्थानीय चुनाव अभियान सफल पार्न जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेशसभा क्षेत्रीय समितिबाट डडेल्धुराका ५२ वटै वडाहरूमा प्रतिनिधिहरू खटाइएको छ भने चैत ५ गते वडाहरूको कार्यक्रम सञ्चालन गर्न ५२ जना प्रतिनिधिहरू खटाइएको छ । यसरी प्रतिनिधि खटाउँदा एक पक्षीय रूपमा खटाइएको भन्दै नेपाली कांग्रेस डडेल्धुराभित्र तीव्र असन्तुष्टि बढे्को नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताउनुभयो । उहाँले अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा सञ्चालित चुनावी अभियान बहिष्कार गर्ने जानकारी दिनुभयो ।

पार्टी एकढिक्का बनाउनका लागि प्रधानमन्त्री तथा सभापति देउवाले भूमिका निर्वाह गर्नुपर्ने स्थानीय नेता कार्यकर्ताहरूको माग छ । सभापति देउवाले आफूपक्षीय नेता कार्यकर्ताहरूलाई अवसर दिने र तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षीय नेता कार्यकर्ताहरूलाई पेलेर लैजान थालेकाले नेपाली कांग्रेस डडेल्धुरामा विवाद सिर्जना भएको नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सहसचिव अर्जुनबहादुर मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्