चैत १८ देखि विराटनगरमा व्यापार मेला हुने



विराटनगर (नेस) ।

मोरङ व्यापार संघको आयोजनामा आगामी चैत १८ देखि नौ दिने बृहत् व्यापार मेला (ट्रेड एक्स्पो) हुने भएको छ । एक्स्पोमा अहिलेसम्म प्रयोग नगरिएको एसी जडित प्रदर्शनी स्थल राखिने दाबी गरिएको छ । एक्स्पोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष नवीन रिजालले स्वदेशी उत्पादनको प्रवर्धन गर्ने मुख्य उद्देश्य लिइएको बताउनुभयो ।

उहाँले परम्परागत मेलालाई भन्दा नयाँ नयाँ प्रविधिको प्रयोग र प्रवद्र्धन गरी औद्योगिक उत्पादनको बजारीकरणमा मद्दत पु¥याइने बताउनुभयो । एक्स्पोले मुलुकको प्रमुख आर्थिक मेरूदण्ड रहेको उद्योग, व्यवसायको हक हितको संरक्षण तथा यस क्षेत्रका गतिविधिहरूलाई प्रवर्धन गर्न संघले निरन्तर प्रयास गर्दै आइरहेको भन्दै प्रदेश १ को स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जालगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिने जनाइएको छ ।

अध्यक्ष रिजालले आगामी चैत १८ देखि २६ गतेसम्म विराटनगर–२ शंकरपुरस्थित मैदानमा एक्स्पो आयोजना गरिएको बताउनुभयो । एक्स्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूलाई समेटिने जनाइएको छ । करीब दुई लाख दर्शकले अवलोकन गर्ने अनुमानसहित एक्स्पोलाई अत्याधुनिक प्रविधिसहितको बनाइने तयारी रहेको मेलाका संयोजक तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले बताउनुभयो ।

उहाँले मेलामा लन्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता मुख्य आकर्षण रहने बताउनुभयो । त्यसै गरी एक्स्पोको इतिहासमै पहिलो पटक जिपलाइन, रिभर्स बन्जी, जिप साइक्लिङलगायतका साहसिक खेलकुदका विविध गतिविधिसमेत समावेश गरिएको उहाँले जानकारी दिनुभयो । एक्स्पोमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि स्टलहरूमा रहने जनाइएको छ । कुल २७५ वटा स्टलमध्ये एसी स्टलको संख्या ८० वटा रहने संयोजक बेगवानीले बताउनुभयो ।

उहाँले कुलर जडित स्टल ६० वटा र साधारण स्टल १०६ वटा रहने जानकारी दिनुभयो । एक्स्पोमा अटो मोबाइल्सका लागि २५ वटा र खाद्यान्नतर्फ १० वटा स्टल छुट्याइएको जनाइएको छ । मेलामा करीब ३ करोड लगानी हुने र ४५ करोडसम्मको कारोबारको अपेक्षा राखिएको मेला संयोजक बेगवानीले बताउनुभयो । मोरङ व्यापार संघले पहिलोपटक २०५३ सालमा कोशी महोत्सवको आयोजना गरेको थियो । त्यसपछि विभिन्न समयमा व्यापार मेला आयोजना गरी निरन्तरता दिँदै आएको छ । २०५७ मा पूर्वाञ्चल औद्योगिक व्यापार मेला, २०६२ र २०७० मा विराट महोत्सव, २०७५ मा विराट ट्रेड एक्स्पो २०१८ भव्यताका साथ आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्