प्रदेश प्रमुख दम्पतीद्वारा मृत्युपछि शरीर दान



हेटौंडा, (नेस) ।

वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीरदान गर्ने घोषणा गर्नुभएको छ । प्रमुख शर्मा र उहाँकी पत्नी उर्मिला शर्मा (चौलागाईं) ले मृत्युपछि शरीरदान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

ललितपुरको ग्वार्को बसोबास गर्दै आउनुभएका ६६ वर्षीय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीरदान गर्ने निर्णय गर्नुभएको छ । चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाइका लागि उपयोगी होस् भनेर आफूहरूले मृत्युपछि शरीरदान गर्ने निर्णय गरेको प्रदेश प्रमुख शर्माले बताउनुभयो । ८ वर्षदेखि आफ्नो मुटुमा पेसमेकर राखिएकाले सोबारे विद्यार्थीलाई अध्ययनका लागि उपयोगी होस् भन्ने अपेक्षाले मृत्युपछि शरीरदान गर्ने निर्णय लिइएको प्रमुख शर्माको भनाइ छ ।

मृत्युपछिको शरीरदानका लागि आवश्यक प्रक्रिया केही समयदेखि थाले पनि शुक्रबार आवश्यक कानुनी प्रक्रिया पूरा भएको प्रमुख शर्माले बताउनुभयो । मृत्युपछि दान गरिएका शव चिकित्सा विज्ञानमा परीक्षणका लागि उपयोगी हुने भएकाले इच्छुक व्यक्तिले शरीरदान गर्नसक्ने किस्ट मेडिकल कलेज प्रशासन शाखाकी सरिता हाडाले जानकारी दिनुभयो ।

चिकित्सा विज्ञानका विद्यार्थीको प्रयोगात्मक पढाइका लागि बेवारिसे शवमा भर पर्नुपर्ने अवस्थामा मृत्युपछि शरीरदान गर्न इच्छा राख्नेबाट विद्यार्थीलाई अध्ययनका लागि सहज हुने मेडिकल कलेजका प्राध्यापकहरूको भनाइ छ । नेपालमा मृत्युपछि शरीरदान गर्ने प्रावधान २०७५ भदौ १ गतेबाट शकुरू भएपछि हाल विभिन्न क्षेत्रका व्यक्तिले मृत्युपछि शरीरदान गर्न इच्छा राखेर निवेदन दिएको हाडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्