पानीका कारण इलाममा बिरामी बालबालिकाको चाप बढ्दो



इलाम ।

करिब डेढ सातादेखि इलाम सदरमुकाममा बिरामी बालबालिकाको संख्या बढेको छ । एकै किसिमको लक्षण देखिने बिरामीमा सबैभन्दा बढी संख्या बालबालिकाको देखिएको हो । केही दिनयता इलामका बालबालिकामा लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण देखिएको छ ।

इलाम अस्पतालको आकस्मिक सेवामा डेढ सातायता १० वर्षभन्दा मुनिका झण्डै सयजना बालबालिका आइपुगेको आकस्मिक सेवाका इन्चार्ज टीका लुइँटेलले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा यस्ता लक्षणका बिरामी बालबालिका लिएर आउनेको चाप केही दिनदेखि बढेको छ । घाँटी दुख्ने, पखाला लाग्ने, जिउ दुख्ने, हातखुट्टा दुख्ने, पेट दुख्ने र बान्ता हुने लक्षण देखिएका १५ देखि २० बिरामी दिनहुँ अस्पताल आइरहेको अस्पतालले जनाएको छ । १० वर्षभन्दा कम उमेरका बालबालिका यो लक्षणबाट बढी प्रभावित भएका छन् भने त्योभन्दा बढी उमेरका मानिसमा पनि लक्षण भने उही देखिएको बताइएको छ । सदरमुकाम क्षेत्रमा यस्ता बिरामीको संख्या धेरै देखिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्यले मौसम परिवर्तनपछि इलाम नगर क्षेत्रका बालबालिका धेरै बिरामी परेपछि कार्यालयले नगरमा आउने तीनवटा पानीको मुहान र ११ वटा धाराको पानी परिक्षणका लागि सुनसरीको इटहरीस्थित पानी परीक्षण प्रयोगशालामा पठाएको जानकारी दिनुभयो । प्रयोगशालाले इलाम नगरपालिका ७ स्थित कलधाराको पानी पिउन योग्य नभएको प्रतिवेदन दिएको छ । उक्त पानीमा ब्याक्टेरिया रहेको र प्रदूषित भएकाले सो धाराको पानीमा क्लोरिन हाल्न र तत्कालको अवस्थामा नपिउन नगरपालिकामार्फत जानकारी गराइसकेको शाक्यको भनाइ छ ।

अस्पतालमा बिरामी बालबालिकाको चाप बढ्दो क्रममा रहँदा निजी मेडिकलमा पनि यस्तै किसिमको लक्षण भएका बालबालिका लिएर दैनिक १५ देखि २० जना अभिभावक आउने गरेको द मेडिको क्लिनिकका सञ्चालक विनोद थापाको भनाइ छ । चिकित्सकका अनुसार मौसम परिवर्तनका बेला मानिसमा देखिने यो लक्षणलाई ‘एक्युट भाइरल ग्यास्ट्रो इन्टेराइसिस’ भनिन्छ । यो एक किसिमको भाइरल नै भएको चिकित्सकको भनाइ छ । खानपान र मौसम परिवर्तनको कारणले यस्तो भएको हुनसक्ने भएकाले स्वास्थ्यकर्मीले खानपान तथा सरसफाइमा विशेष ध्यान दिनका साथै झोलिलो पदार्थ र प्रशस्त पानी पिउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्