नेपाल वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति 



काठमाडौं ।

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदीको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन रियादले त्यहाँका तीन वटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहित चार जना कर्मचारी साउदी जानु भएको थियो । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान गर्ने भन्दै एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसअघि साउदीमा हिमालय एयरलाइन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर, जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन । निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्