लमजुङका गाउँघरमा खबर पुर्‍याउन कटुवालकै भर



????????????????????????????????????

लमजुङ ।

लमजुङको क्व्होलासोथर गाउँपालिका-८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँले कान टाँठो बनाउँदै उनलाई सुन्न थाल्छन् । चौतारीको डिलबाट उनी गाउँमा भैपरी आएका नयाँ सुचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई खबर सुनाउने मान्छे अर्थात् कटुवाल । गाउँका बासिन्दालाई सामुहिकरुपमा खबर गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको व्यवस्था रहेको छ ।

गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभकार्यमा स्थानीयबासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रितिथितीि अनुसार असिना बार्ने, बिउ बार्ने देखि विकास निर्माणका काममा सामुहिक काम गराउन, दाउरा काट्ने, दुःख(बिरामीमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङ बताउँछन् ।

गाउँभरीको खबर गर्ने आधिकारीक व्यक्ति नै गाउँको कटुवाल भएको उनले बताए । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको जिम्मेवारीमा रहेको वडाध्यक्ष गुरुङले बताए । वर्षौंदेखि कटुवालको चलन चल्दै आएको र आफुले ४ वर्षअघि सो जिम्मेवारी सम्हालेको बिनबहादुरले बताए । घाम्राङगाउँ मात्रै नभई आसपासका घिचे, साल्मे, घाम्राङबेसी लगायतका गाउँमा पनि उनले नै खबर पुर्‍याउने गर्दछन् ।

गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफुलाई सन्तोष लागेको उनको भनाइ छ । गाउँमा हुने कुनैपनि कार्यको खबर कटुवालबाटै आफुहरुले थाहा पाउने स्थानीय सन्तबहादुर परियार बताउँछन् । कटुवालले एकै पटकमा सबैलाई खबर पुर्‍याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नहुने उनको भना‍इ छ ।

कटुवाल कराए बापत् उनले गाउँलेबाट सामुहिक रुपमा बार्षिक ४ मुरी धान, १ मुरी कोदो पाउँछन् । वर्षेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै आएका उनले ११ जनाको परिवार धान्दै आएका छन् ।

गाउँपालिका अन्तर्गत थुप्रै गाउँमा अझैपनि कटुवालको चलन रहेकाले सम्भव हुँदासम्म सबैलाई हाते माइकको व्यवस्था गर्ने प्रस्ताव गाउँपालिकाको बैठकमा राख्ने उनले बताए । क्व्होलासोथर मात्रै नभई जिल्लाको सुन्दरबजार, राईनास नगरपालिका, दोर्दी, दूधपोखरी र मर्स्याङदी गाउँपालिका अन्तर्गतका ७५ वडा मध्येका अधिकाँश गाउँमा अहिले पनि सामुदायिक सुचना प्रवाहका लागि परम्परागत ढंगमै कटुवालको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्