![](https://newsofnepal.com/wp-content/uploads/2022/03/cober-1.jpg)
निर्माता निर्देशक मिलन चाम्सले बनाउने नयाँ फिल्म वर–वधुका लागि नव नायक चयन गरेका छन्। वीर गोर्खालीको गाथामाथि गोर्खा वारियर नामक फिल्म निर्माण गरिरहेका चाम्सले त्यसको कामलाई थाँती राखी निर्माण गर्न लागेको वर–वधुका लागि नयाँ प्रस्तुतिका रूपमा विवेक कर्माचार्यलाई नायकका रूपमा चयन गरेका छन्।
विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका छन्। उनी फिल्ममा वरका रूपमा देखिनेछन्। मिलनले यसअघि नै वधुका रूपमा नायिका आँचल शर्मालाई चयन गरिसकेका छन्। नायिका शर्माले यही फिल्मका लागि आफ्नो तौल पनि घटाएकी छन्। फरक कथामा बन्न लागेको फिल्मका कारण आफू उत्साहित भएको आँचलले बताइन्।
फिल्म क्षेत्रमा नयाँ नायकको अभाव भइरहेको समयमा विवेकले नयाँ सम्भावना देखाउने विश्वास मिलनले व्यक्त गरेका छन्। फिल्म केही दिनमै सुटिङ फ्लोरमा जाने उनले जानकारी गराएका छन्। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म कमेडी र लभ स्टोरी कथामा बन्ने पनि उनले बताए।