गठबन्धनका सबै तह चुनावसम्म कायमै रहन्छन् : प्रधानमन्त्री



वीरगन्ज ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा अहिलेको सत्तागठबन्धन आगामी सबै तहको चुनावसम्म नै कायम रहने बताउनुभएको छ । वीरगन्जमा बिहीबार नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताउनुभएको हो ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धनमा रहेका दलहरूसँग मिलेर चुनाव लड्ने बताउनुभयो । त्यसैले गठबन्धनका अन्य सहयात्री दलहरू चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरूलाई उहाले निर्देशन पनि दिनुभयो । संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पनि गठबन्धनका दलहरूबीचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताउनुभयो । यसका साथै कांग्रेस पार्टी र देशको हितमा पनि गठबन्धनलाई कायम राख्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

एमसीसी परियोजना मुलुकको हितमा रहेको उहाँले जिकिर गर्नुभयो । एमसीसी परियोजना, ऋणमा नभई अनुदानमा आएको परियोजाना रहेको भन्दै प्रधानमन्त्री देउवाले यसले देशको विकासमा सहयोग पुग्नुका साथै रोजगारी पनि सिर्जना गर्ने बताउनुभयो । नेपाल, दुई ठूला छिमेकी देशको बीचमा रहेको भन्दै उहाले दुवै छिमेकीसँग नेपालले समदूरी र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले पर्साको पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनीयारलाई कांग्रेस पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, नवनिर्वाचित जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, संविधानसभा सदस्य अनिल रुँगटालगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । यसैबीच नेपाल घरेलु तथा साना उधोग महासंघको अधिवेशनलाई समेत प्रधानमन्त्री देउवाले वीरगन्जमा बिहीबार नै सम्बोधन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्