मादी बस दुर्घटनामा १५ को मृत्यु

घाइतेहरूको धरानमा उपचार हुँदै



संखुवासभा ।

संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा बिहीबार भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । चार गम्भीर घाइतेलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार मृतक सबैको पहिचान खुलेको छ । उहाँले घटनास्थलमा १४ जना र दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी–५ की २७ वर्षीया युका पोखरेलको उपचारका क्रममा धरानमा मृत्यु भएको बताउनुभयो । सेनाको हेलिकोप्टरबाट गम्भीर घाइते ५ जनाको उद्धार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मादी–६ की ३० वर्षीया सीता विक, ३२ वर्षीया अञ्जना कटुवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–२ का ४२ वर्षीय इन्द्र अधिकारी, मादी–६ की ५ वर्षीया दीक्षा कटुवाल, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सविता कार्की तथा मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल रहेका छन् ।

त्यस्तै, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन, उनका छोरा ८ वर्षीय सुदीप घिसिङ, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, आइतबहादुर तामाङ, तेह्रथुमका बसचालक ३१ वर्षीय विपीन निरौला र मादीका सहचालक उमेश भट्टराईको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो ।

अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
संखुवासभाको मादीबाट झापाको दमकतर्फ १९ जना यात्रु लिएर जाँदै गरेको बस मादी नगरपालिका ६ को पुलुङस्थित सात घुम्तीमा बिहीबार बिहान साढे ७ बजे दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । ओरालो सडकमा धेरै घुम्ती भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
दुर्घटनापछि स्थानीयवासी, जनपथ प्रहरी र सशस्त्र प्रहरीले घाइतेको उद्धार गरेका थिए । दुर्घटना परी मृत्यु भएका १५ जनाको शव पोस्टमार्टमका लागि चैनपुर प्र्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान शुरू गरेको बताएको छ ।

यसैबीच, नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले मृतकप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेहरूको थप उपचारका लागि सरकारले हेलिकोप्टरमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएकोमा सरकारप्रति आभार व्यक्त गरेको छ । यसका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइदिन माग गरेको सभापति दीपक खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्