कमीकमजोरी भए सच्याउनुपर्छ : नेपाल



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी कार्ययोजना पारित गरेको छ । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धन गरेर अगाडि बढ्ने नीति लिएको छ । गठबन्धन नगरे स्वयं कांग्रेसलाई नै घाटा हुने भन्दै बैठकले कांग्रेसका केही नेताहरूले सस्तो लोकप्रियताका लागि गठबन्धनको विरोध गरिरहेको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले गठबन्धन चारै दललाई नै आवश्यक रहेकाले स्थानीय चुनाव मात्रै नभई प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताउनुभयो । चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने उहाँले बताउनुभयो ।

बैठकमा केही नेताहरूले सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । तर, समूहगत रूपमा आएको जवाफ दिँदै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आत्मसमीक्षासहित अगाडि बढ्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– ‘कमीकमजोरी भए सच्याउनुपर्छ । जनताको पक्षमा ध्यानकेन्द्रित गरेर काम हुनुपर्छ । आत्मसमीक्षा गरेर अगाडि बढ्नुहोस् ।’

बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रूपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ । एमसीसीको विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले विमति राख्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्