ज्योतिषी मोडल भट्ट गुरु



म त उनको नवराज भट्ट हो, तर चिनिन्छन् भट्ट गुरुका नामले।

खासमा उनी युवा ज्योतिषी हुन्, तर म्युजिक भिडियो मोडलिङमा पनि उत्तिकै छाएका छन्। ज्योतिष विद्यामा जम्दा नजम्दै मानिसहरूले भट्ट गुरु भन्न थालेपछि उनी यसै नामबाट स्थापित छन्। गोर्खा नगरपालिका, ताप्ले वडा नम्बर एकमा जन्मिई हाल राजधानीमा बस्दै आएका २७ वर्षे उनको मामाघरका हजुरबुवा ज्योतिषी थिए, त्यसैले नवराजमा पनि यो विद्याप्रति चासो बढ्यो।

‘एकपटक म पनि ज्योतिषीकोमा गएको थिएँ। उहाँले मेरो जीवनमा भएका पूर्वघटनाहरू भनिदिनुभयो, मलाई अचम्म लाग्यो। त्यसकै प्रभावले ज्योतिषविज्ञान पढेँ। बनारसको काशीमा नेपाली पशुपति मन्दिर गएर यो विद्या पढेँ। त्यसपछि डिल्लीबजारमा रहेको पूर्वीय दर्शनमा पनि यसबारे अध्ययन गरेँ’ उनको दाबी छ ‘मानिसको जन्म मिति र जन्म समयका आधारमा उसको पुर्खाको बारेमा जुन उसलाई नै थाहा छैन, त्यो पनि भन्न सकिन्छ।’

खासगरी केही महिनाअघि नायक पल शाहबारे उनले गरेको भविष्यवाणी मिलेपछि उनी अहिले चर्चामा छन्। ‘मैले पाँच महिनाअघि शुक्र र राहुका कारण पल शाहले केटीबाट बच्नुपर्छ भनेर भविष्यवाणी गरेको थिएँ। एउटा अन्तर्वार्तामा नेपाल आइडल किरण गजमेर र कमेडी च्याम्पियन भरतमणी पौडेल हुन्छन् भनेको थिएँ। त्यही बेला पल शाहको प्रसँग आउँदा सो घोषणा गरेको थिएँ। मेरो त्यो भविष्यवाणी मिलेपछि मप्रतिको विश्वास अझ बढेको महशुस भएको छ’ नवराजले भने।

पल अहिले अनुसन्धानका लागि नवलपरासीको गैंडाकोट प्रहरीमा न्यायिक हिरासतमा छन्। भट्ट गुरुको ज्योतिष विद्याले भन्छ ‘पल शाहको वैशाख ५ गतेसम्मको समय राम्रो छैन। त्यो समयसम्म अनुसन्धान लम्बिन सक्छ तर त्यसपछिको दिनहरूचाहिँ त्यति नराम्रो छैन।’ नवराजका अनुसार जन्म मिति र समयअनुसार बाहेक नामबाट चिनिने व्यक्तिलाई बोलाइने नामबाट पनि भाग्यफल निस्कन्छ। उनले किरण गजमेर, भरतमणि पौडल र पल शाहका बारेमा पनि नामका आधारमा भाग्यफलको भविष्यवाणी गरेको बताए।

‘मानिस कुन नामबाट चिनिन्छ, त्यसबाट पनि हेर्न मिल्छ। न्वारनको नाम र बोलाउने नामको संयोजन मिलेन भने पनि धेरै असर पर्छ। जन्म मिति र समयअनुसार हेर्ने त छँदैछ, तर व्यक्तिलाई कुन नामबाट चिनिन्छ, त्यसबाट पनि हेर्न मिल्छ। बोलाउने नाम पञ्चम र भाग्य स्थानमा पर्यो भने राम्रो हुन्छ। अहिले नामको हिसाबबाट हेर्दा अनमोल केसी र प्रदीप खड्काको समय निकै राम्रो देखिन्छ। २०७९ सालमा फिल्म क्षेत्रमा नयाँ अभिनेताको प्रवेश हुनेछ र उसले सफलता पनि पाउने छ’ नवराजको विद्याले भन्छ ‘हाल कोरोना महामारीका कारण फिल्मको व्यापारिक अवस्था राम्रो छैन। तर, चैत्र २० गतेपछि कोरोना नफर्केला। त्यसपछिको फिल्म क्षेत्रको टाइम राम्रो हुनेछ’ नवराजको ज्योतिष विद्याले भन्छ ‘२०८० सालसम्म नेपालमा राजा आउँछन्। नेपालमा राजाले कुनै स्थान ओगट्छन्। वास्तवमा मानिसको बोलाउने नामअनुसार उसको बारेमा भन्न सकिन्छ। नेपालको वृश्चिक राशिबाट हेरिन्छ। बोलाउने नाम र न्वारनको नाम पञ्चम स्थान र भाग्य स्थानअनुसार राखिन्छ। बोलाउने नाम भाग्यस्थान अनुसार राखिएको छ भने उसको बारेमा भन्न सकिन्छ।’

मोडल कम, ज्योतिष बढी नवराज जन्म तिमी र समयको आधारमा मानिसको भाग्यमा लेखिएका कुरा नमेटिने भनिए पनि ज्योतिष विज्ञानअनुसार उपचार गर्न सकिने दाबी गर्छन्। ‘शनिको टाइमिङ चलेको छ र शनि नराम्रो स्थान बसेको छ भने त्यसको केही हदसम्म उपचार गर्न सकिन्छ। यो भनेको पानी परेको बेला छाता ओढाउन सकिन्छ तर घाम नै लगाउन सकिँदैन।’

आप्mनो भाग्यफल जान्नका लागि नवराजकहाँ सामान्य मानिसदेखि कलाकार, व्यापारी, राजनीतिक व्यक्तित्वसमेत पुग्ने गरेका छन्। फिल्म निर्देहक मिलन चाम्स, नायक सविन श्रेष्ठ, हास्य कलाकारहरू कुमार कट्टेल ‘जिग्री’ अर्जुन घिमिरे ‘पाँडे बुढा’, हरिश निरौला ‘कक्रोच’, जस्ता कलाकारहरूले उनीसँग नियमितरूपमा ज्योतिषीय परामर्श लिने गरेका छन्। नवराजका अनुसार फेस रिडिङ र हस्तरेखा हेरेर गरिने भविष्यवाणी कमै मिल्छन्। ‘केही कुरा मिले पनि जन्म मिति र समयअनुसार हेरेको जस्तो हुँदैन’ उनको दाबी छ। नवराज कमाइभन्दा पनि सन्तुष्टिका लागि ज्योतिष विद्यालाई अंगिकार गरेका बताउ“छन्। ‘म कमाइभन्दा पनि सन्तुष्टिका लागि यो काम गर्छु। बुबा समानको मानिसहरू आउनुहुन्छ। गुरु भनेर सम्मान दिनुहुन्छ। योभन्दा बढी सन्तुष्टि के हुन्छ र?’ ज्योतिष विद्यालाई अपनाएरै थुप्रै मान सम्मान र पुरस्कार पाएका उनी भन्छन्।

नवराज मोडलिङचाहिँ आफ्नो सौख मात्र भएको र फुर्सदको समयमा गर्ने गरेको बताउँछन्। उनले सानैदेखि कलाकारिता र मोडलिङमा रुचि भए पनि कोरस कलाकार दाई गोविन्द भट्टको सहयोगमा मोडलिङ यात्रा शुरू गरेका हुन्। ‘मलाई यो क्षेत्रप्रति पनि रुचि थियो। फिल्म खुब हेर्र्थें, निखिल उप्रेतीको फ्यान थिएँ।

मेरो दाइ गोविन्दले १२/१४ सय गीतमा कोरस डान्सर भएर काम गर्नु भएको छ। उहाँकै चिनजानको आधारमा उहाँको सहयोगले साथीभाइ र प्रवीण भट्टको सहकार्यमा पहिलोपटक २०७० सालमा छाती चिरी हेर सानु कति माया गर्छु बोलको गीतमा मोडलिङ गरेँ। सोख पूरा गर्न मोडलिङ गर्ने गर्छु।

डिस होमको रमाइलो टीभीमा ज्योतिष विज्ञानसम्बन्धी लाइभ कार्यक्रम हेलो गुरु पनि चलाउँथे। त्यो अहिले बन्द गरेको छु र फुर्सद भएको समयमा मोडलिङ गर्छु’ भट्टले सुनाए। उनले नभुले है, आयो कस्तो कस्तोजस्ता गीतको भिडियोमा पनि मोडलिङ गरेका छन्। उनका केही म्युजिक भिडियो सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्