निर्वाचन आयोग कांग्रेसतिर झुक्यो : ओली



विराटनगर ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाउनुभएको छ । एमाले मोरङले रंगेलीमा बुधबार आयोजना गरेको तराई मधेश केन्द्रित जनसभामा उहाँले कांग्रेसले नेतृत्व गरेको समयमा सरकारले कुनै काम गर्न नसकेको पनि आरोप लगाउनुभयो ।

निर्वाचन आयोगले मतपत्र हरियो रङमा छाप्ने निर्णयको अध्यक्ष ओलीले विरोध गर्नुभयो । उहाँले भन्नुभयो– ‘निर्वाचन आयोग कांग्रेसतिर झुक्यो, यो मान्य छैन ।’ अध्यक्ष ओलीले एमालेलाई अहिले हाइसन्चो भएको बताउनुभयो । एमाले चोइटिए पनि कुनै असर नभएको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले माओवादी पार्टी नभएर अन्योलको पोको भएको बताउनुभयो । उहाँले माओवादी पार्टी नै नभएकाले नअल्मलिई एमालेमा आउन आग्रह गर्नुभयो । ‘कांग्रेस विस्तारै विस्तारै बूढो हुँदै छ । बूढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भन्नुभयो– ‘चुनाव चिन्ह हरियो हुँदा कांग्रेस बौरँदैन ।’ उहाँले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा दशकौंसम्म बन्न नसकेको काम भएको दाबी गर्नुभयो ।

ओलीले कांग्रेसले एमसीसीको पक्ष र एमालेले सरकारमा हुँदा गरेका कामको विपक्षमा भण्डाफोर अभियान चलाउने भनेकोमा व्यंग्य गर्दै धरहरा पनि भत्काउने भन्ने प्रश्न गर्नुभयो ।

यस्ैबीच मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया र उपमेयर केशवकुमारी खराल नेकपा एमालेका प्रवेश गरेका छन् । उनीहरुसँगै वडा नम्बर १, ५ र ७ बाट निर्वाचित वडाअध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई बुधबार रंगेलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउनुभएको हो । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार प्रमुख, उपप्रमुखसहित रंगेली नगरपालिका वडा नम्बर ७ का रामचन्द्र मण्डल, वडा नम्बर १ का महेशकुमार खनाल र वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डल एमालेमा प्रवेश गरेका हुन् ।

सोही कार्यक्रममा उनीहरुसहित मोरङका ७ वटा पालिकाबाट ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । मंगलबार मात्र नेकपा माओवादी केन्द्रले मेयर बगडिया पार्टीबाट कारबाही गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । प्रदेश कमिटीको नाममा सार्वजनिक भएको विज्ञप्तिमा बगडिया पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएकोले मेयरलाई कारबाही गर्न निर्वाचन आयोगलाई लेखेर पठाइएको उल्लेख गरेको थियो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर र वडाध्यक्षहरू नेकपा माओवादी केन्द्रबाट विजयी बनेका थिए । बगडियालगायतका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउनकै लागि एमालेले रंगेलीमा वृहत जनसभाको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्