बाँकेमा साना हतियारको बिगबिगी



बाँके ।

बाँके प्रहरीले सोमबार राति खजुरा गाउँपालिका–१ बहादुरपुरका गल्छी भन्ने रवीन्द्र थापाको घरमा छापा मार्यो । थापाको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई सुराक आएको थियो ।

इलाका प्रहरी कार्यालय, धनौली र राधापुर प्रहरी चौकीबाट गएको टोलीले थापाको घरमा खानतलासी गर्दा ९० ग्राम ब्राउनसुगर र अटोमेटिक पेस्तोल भेटियो । थापा सुत्ने कोठामा पेस्तोल भेटिएको थियो । फाल्गुन १७ गते साँझ राप्ती नदी पुलतिर गोली चलेको आवाज आयो । इलाका प्रहरी कार्यालय, वनकट्टी (क) बाट प्रहरीको टोली राप्ती पुलतिर निस्किए । त्यही नजिकै गाडी देखियो । त्यसलाई खानतलासी गर्दा मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल बरामद भयो । पेस्तोलमा लोड गरेको सात थान र गाडीको सिटमा दुई थान गोली भेटियो ।

नेपालगन्ज उपमहानगरपालिका–१२ का दीपेन्द्र अधिकारीले अटोमेटिक पेस्तोल बोकेर हिँडेका थिए । अधिकारीले नै त्यो दिन दुई राउन्ड फायर गरेका थिए । यी दुई घटनाले पनि बाँकेमा साना हतियारको बिगबिगी रहेको देखिन्छ । भारतमा सजिलै किन्न पाइने भएकाले बाँकेका युवाले पेस्तोल बोकेर हिँड्ने गरेका हुन् । नेपाली सेनासँग मात्रै रहेको अटोमेटिक पेस्तोल अधिकारीले भारतको लखनउबाट ५० हजार भारुमा किनेर ल्याएका थिए । अधिकारी र थापाले खुलेयाम पेस्तोल बोकेर हिँड्ने गरेका थिए ।

बाँकेमा माघ २९ गते दुई जना भारतीयलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो । त्यसअघि कोहलपुर प्रहरीले दुईवटा पेस्तोल बरामद गरेको थियो । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले साना हतियार भारतमा सजिलै पाइने भएकाले खुला नाकाबाट बाँकेमा पनि भित्रिएको भन्दै त्यस्ता हतियार नियन्त्रण गर्न प्रहरी लागि परेको बताउनुभयो ।

आपराधिक पृष्ठभूमिका युवाले पेस्तोल बोकेर हिँड्ने गरेका छन् । नेपालगन्जमा सजिलै हतियार आइपुग्ने भएकाले युवाले पेस्तोल बोकेर हिँड्ने गरेका छन् । कतिपय भारतीय नेपालगन्जसम्म नै हतियार बिक्री गर्न आइपुग्ने गरेको पाइन्छ । केही अघि नेपालगन्जमा हतियार बिक्री गर्न आउँदा भारतीय पक्राउ परेका छन् । २० हजार रुपियाँमा पेस्तोल किनबेच हुने गरेको पाइएको छ । प्रहरीले डन प्रवृत्तिका युवाको राम्ररी खानतलासी गर्ने हो भने यस्ता साना हतियार भेटिन सक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्