इन्जिनियरलाई अधिकृत तहको तलब उपलब्ध गराउन माग



काठमाडौं ।

नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले इन्जिनियरलाई न्यूनतम अधिकृत तहको तलब उपलब्ध गराउनुपर्ने बताएको छ ।

गठबन्धनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बृहत् गठबन्धनको तर्फका अध्यक्षका उम्मेदवार डा. सुरज लामिछानेले अहिले इन्जिनियर पढे पनि न्यूनतम तलबमा काम गर्नुपरेको भन्दै इन्जिनियरलाई कम्तीमा अधिकृत तहको तलब उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

‘अहिले इन्जिनियरहरूलाई इन्टर्नसिपका नाममा न्यूनतम तलबमा काम लगाउने पाइएको छ’, उहाँले भन्नुभयो– ‘अब इन्जिनियरको तलब न्यूनतम अधिकृत वा सो सरहको हुनुपर्दछ ।’ उहाँले वर्षेनी ६ हजारभन्दा बढी इन्जिनियर उत्पादन हुने गरेको भए पनि सोअनुसार जनशक्तिको खपत नभएको समेत बताउनुभयो । उहाँका अनुसार अहिले एक हजार मात्र इन्जिनियरलाई मात्र वर्षेनी रोजगारी सिर्जना हुने गरेको बताउनुभयो ।

उहाँले हरेक एक जना सिनियर इन्जिनियरले दुई जना इन्जिनियरलाई सहयोगको रूपमा राख्दा एक हजार जना इन्जिनियरलाई रोजगार दिन सकिने बताउनुभयो । अहिले देशभरिमा ५२ विभिन्न विधामा ६७ इन्जिनियर रहेका छन् । तीमध्ये २२ हजार नेपाल इन्जिनियर्स एसोसिएसनमा रहेका दर्ता भएका छन् ।

अध्यक्षका प्रत्यासी डा. लामिछानेले विभिन्न ३३ बुँदे एजेन्डासहित निर्वाचनमा होमिनुभएको छ । उहाँले आफ्नो समूहमा दक्ष, योग्य, इमान्दार उम्मेदवार रहेको जित्ने बताउनुभयो । उहाँले इन्जिनियर पढेर आएकालाई नयाँ प्रविधिसँग जोडनका लागि इन्जिनियर स्टाफ कलेज स्थापना गर्ने बताउनुभयो । उहाँले इन्जिनियरिङ शिक्षाको गुणस्तरको स्तरोन्नतिका लागि नेपाल इन्जिनियरङ परिषद् एव विश्वविद्यालयसँग अधिकतम सहकार्य गरिने बताउनुभयो ।

गठबन्धनबाट महासचिवका उम्मेदवार डा. भेषराज थापाले इन्जिनियरको हकहित र आवाजलाई राज्यसँग जोड्ने बताउनुभयो । उहाँले आफूहरूले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने बताउनुभयो । प्रगतिशील इन्जिनियर समूहका अध्यक्ष शम्भुबहादुर श्रेष्ठले गठबन्धनबाट उठेका उम्मेदवार नेतृत्व लिन सक्षम, प्रतिवद्ध र इमानदार रहेको बताउनुभयो । उहाँले आफूहरूले उठाएका एजेन्डाले समग्र इन्जिनियरको रहेकोले जित सुनिश्चित रहेको बताउनुभयो ।

३३औं कार्यकारिणी समितिको यही फागुन २७ गते हुने निर्वाचन एकै साथ हुँदै छ । निर्वाचनमा पाँच समूहले चुनावी मैदानमा रहेका छन् । केन्द्रमा १८ जना र प्रदेशमा १६ जना (कुल ११२) गरि कुल १३० पदाधिकारी तथा सदस्यका लागि निर्वाचन हुँदै छ । उपाध्यक्षमा देउकाजी गुरुङ, उपमहासचिवम शिवराम केसी, कोषाध्यक्षमा डा. आनन्द सिंह, सहकोषाध्यक्षमा अर्जुन पौडेल रहनुभएको छ ।

यस्तै, इन्जिनियरिङ परिषद्का सदस्यमा डा. भीमकुमार दाहाल, बाबुराम भण्डारी, वसन्त लिङथेप, डा. अजयकुमार झा र बन्दना सुवेदीले उम्मेदवारी दिनुभएको छ । इन्जिनियरहरूको हक, हितको संरक्षणको लागि नेईएलाई सशक्त संरक्षक संस्थाको रूपमा विकास गरिने, आगामी निर्वाचनमा विश्वभरि छरिएर रहेका इन्जिनियरहरूको अनलाइनका माध्यमबाट निर्वाचनमा सहभागी गराइने, इन्जिनियर भवन निर्माण अभियान भन्ने नाराका साथ नेपाल इन्जिनियर्स एसोसियसनका हरेक प्रदेश र शाखाहरूमा आफ्नै भवन निर्माण गरिने एजेन्डा रहेका छन् ।

हरेक इन्जिनियरहरूलाई देश निर्माणको लागि सफल उद्यमी बनाउनको लागि अन्य स्थापित संघ–संस्थाहरूसँग सहकार्य गरी विशेष सिर्जनशील एवम् प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गरिने तथा केन्द्र, प्रदेश एवं एसोसिसन शाखाहरूमा र आवश्यकता अनुसार स्थानीय तह स्तरमा ‘विकास निर्माण एवं नीतिगत बहस कार्यक्रम’ सञ्चालन गरी केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्