लमजुङको सुन्दरबजार क्षेत्रमा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी 



लमजुङ ।

लमजुङको सुन्दरबजार–९, भोटेओडार स्थित फ्युचरस्टार आवासीय माविका एक विद्यार्थीको मर्स्याङ्दी नदीमा डुबेर ज्यान गएपछि अभिभावक आन्दोलित बनेका छन् । उक्त घटना पछि विद्यालयमा तोडफोड लगायतका क्रियाकलापसमेत हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा नै जारी गर्नु परेको छ । तनहुँको भानु नगरपालिका–९, बाईसजागरका १७ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा ज्यान गएको हो ।

भोटेओडारको सिँउडिबारमा रहेको मध्यमर्स्याङ्दी  जलविद्युत आयोजनाको पावर हाउस नजिकै नदीमा पौडी खेल्ने क्रममा डुबेर श्रेष्ठको ज्यान गएको हो । स्थानीय फ्युचरस्टार आवासीय माविमा कक्षा १० मा अध्ययनरत श्रेष्ठ बिदाको दिन पारेर नदीमा पौडी खेल्न गएका थिए ।

यसैबिच होस्टेलमा रहेका विद्यार्थीहरूलाई लापरबाही छाडेको भन्दै आक्रोशित श्रेष्ठका परिवार तथा आफन्तले फ्युचरस्टार माविमा तोडफोडसमेत गरेका छन् । तनहुँको बाइसजाँगरबाट आएका श्रेष्ठका आफन्त एवं विद्यालयका अन्य अभिभावकहरूले विद्यालयमा तोडफोड गरेपछि भिड तितरबितर गराउन प्रहरीले लाठीचार्ज गर्नु परेको थियो ।

घटना गम्भीर हुँदै गएपछि प्रहरीले विद्यालयका होस्टेल वार्डेनलाई नियन्त्रणमा लिएको छ । आवश्यक थप अनुसन्धानका लागि होस्टेल वार्डेनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बलको मृत्युको विषयलाई लिएर सिउडीबार क्षेत्रमा थप तनाब ग्रस्ता बन्दै गएपछि प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । आज बिहान ६ बजे देखि अर्को आदेश नभए सम्मको लागि सुन्दर बजार ९ सिउडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनका अनुसार सुन्दर बजार ७ पूर्व दक्षिणमा रहेको पाँउदी पुल, पूर्व तिर रहको मर्स्याङ्दी पुल, पश्चिम तर्फ सुन्दर बजार ९ मा रहको मध्यमर्स्याङदी जल विद्युत केन्द्रको आसव क्षेत्रको मूल गेट अगाडीको पक्की सडक र उत्तर तर्फ सुन्दर बजार ८ को सिउडीबारचोक चार किल्ला कायम गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुशील बैद्याका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दे निषेधाज्ञा जारी गरिएको हो । सहज वातावरण भएमा जुन सुकै समयमा निषेधाज्ञा खुलाउन सकिने प्रमुख जिल्ला अधिकारी बैद्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्