महिला उपमेयरलाई मेयरको टिकटका लागि लबिङ गरिने



काठमाडौं ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले यसअघि उपमेयर/उपप्रमुख भएर काम गरिसकेका महिलालाई पार्टीभित्र मेयर/प्रमुख टिकट दिलाउन महिला नेतृहरूले लबिङ गर्ने बताएका छन् ।

११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पर्क भारतले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, जनता समाजवादी पार्टीलगायतका महिला नेतृहरूले उपमेयर वा उपप्रमुख भएर काम गरिसकेका महिलालाई नै राजनीतिक दलहरूले मेयर वा प्रमुखको उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै यसका लागि आफूहरूले पार्टीमा लबिङ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विसं २०७४ को स्थानीय निर्वाचनमा स्थानीय तहको प्रमुख वा उपप्रमुखको उम्मेदवारी दर्ता गराउँदा कम्तीमा आधा महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यताका कारण उपमेयर/उपाध्यक्षमा ठूलो संख्यामा महिला निर्वाचित भएका थिए । सबैजसो दलले मेयर/अध्यक्षमा पुरुष उठाएर उपमेयर/उपाध्यक्षमा महिलालाई उठाएका थिए । महिलाबीचको प्रतिस्पर्धाका कारण उपमेयर/उपाध्यक्षमा देशभरका २ सय ९३ नगरपालिकामध्ये २ सय ७७ मा महिला निर्वाचित भएका थिए । यसरी राजनीतिमा होमिएका महिलालाई अब अगाडि बढाउने दायित्व राजनीतिक दलहरूकै भएको जिकिर गर्दै ती महिला नेतृहरूले महिला उपमेयरलाई यसपटक मेयरमा लड्ने वातावरण बनाइदिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवले अघिल्लो निर्वाचनमा मेयरमा निर्वाचित भएका पुरुषहरूले आफू मेयरमा ढुक्कैसँग निर्वाचित हुने भन्दै पार्टीभित्र पुनः मेयरको टिकटका लागि दबाब दिन थालेको बताउँदै उपमेयरमा निर्वाचित भइसकेका महिलालाई मेयरमा ल्याउन सबै पार्टीका महिला नेतृहरूले दबाब सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मेयरका लागि महिला सक्षम रहेको र महिलाले नेतृत्व सम्हालेको स्थानीय तहमा भ्रष्टाचार भएको नदेखिएको जिकिर गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणका लागि पनि महिलालाई नै प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले महिलाको विषय पार्टीको मात्र नभई राष्ट्रकै विषय भएकाले सबै दलले यसलाई साझा एजेन्डाको रूपमा अधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस नेतृ डा. आरजु राणाले उपमेयरमा पाँच वर्षको अनुभव संगालिसकेका महिला जनप्रतिनिधिहरूले मेयरमा आकांक्षा देखाएको जिकिर गर्दै उनीहरूलाई मेयरमा आउने वातावरण बनाउन पार्टीभित्र लबिङ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एमाले सांसद डा. वृन्दा पाण्डेले दलहरूले आन्दोलनको बेलामा मात्रै महिलालाई अग्रपंक्तिमा राख्ने र आन्दोलनको उपलब्धिपछि पाखा लगाउने गरेको टिप्पणी गर्दै महिला अधिकारको लागि संगठित संघर्ष गर्न जरुरी रहेको बताउनुभयो ।

यसैबीच मंगलबार नेपालभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा यसपालिको महिला दिवस मनाइएको हो । महिलामुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभरि मार्च ८ मा महिला दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्