‘जलवायु परिवर्तनको असर न्यूनीकरण नीति सरकारको प्राथमिकतामा’



काठमाडौं, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई शुभकामना दिँदै उहाँले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको अवस्थामा सरकारले जलवायु परिवर्तनका असर नियन्त्रणका विभिन्न कार्यक्रम अघि बढाएको बताउनुभएको छ ।

‘विश्व तापमानमा आएको वृद्धिले हाम्रा हिमाल पग्लिँदै गएका छन्, बेमौसमी वर्षाजस्ता विपद्ले कृषि र जनजीवनमा ठूलो क्षति पुर्याएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘हामीले यी सबै समस्याका बारेमा हालै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि आवाज बुलन्द गरेका छौं, यसको समाधानमा सबैको प्रयत्न आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले सरकारले सबै मन्त्रालयगत नीतिमा पनि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो । विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौंदेखि १३ दिने पदयात्रा शुरू गरी कालापत्थर क्षेत्रमा विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरिएको छ ।

‘साथसाथै’ का अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले बढी प्रभावित क्षेत्र हिमालयको कालापत्थरमा जलवायु परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन अभियान प्रारम्भ गरिएको जानकारी दिनुभयो । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ मूल नाराका साथ प्रारम्भ गरिएको अभियानका क्रममा जलवायु परिवर्तनले विशेष गरी महिलाको जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा समेत पहल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्