तिलगंगामा विश्व जल विन्दु सप्ताह अन्तर्गत सचेतना सप्ताह सुरु 



न्युज अफ नेपाल,काठमाडौ । 

सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउनुहोस् भन्ने नाराका साथ तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत नेपाल जल विन्दु आँखा क्लिनिकले जल विन्दु रोग सम्बन्धी चेतना जगाउने र जाँच तथा उपचार उपलब्ध गराउने उद्देश्यले यही फाल्गुण २२ गतेदेखि २८ गतेसम्म २० औँ जल बिन्दु सचेतना सप्ताह २०७८  सञ्चालन गरिरहेको छ ।

विश्व जल विन्दु सप्ताह अन्तर्गत सचेतना सप्ताह सञ्चालन भइरहेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । सप्ताहमा मुलुकका विभिन्न क्षेत्रबाट आएका नयाँ तथा पुराना बिरामीको जाँच, जल बिन्दु सम्बन्धी विभिन्न जानकारी तथा परामर्श उपचार प्रदान गरिनेछ । साथै यससम्बन्धी रेडियो तथा भिडियो सार्वजनिक सेवा सन्देश सामाजिक संचाल तथा रेडियोहरूबाट प्रसारण गरिनेछ । सन् २००४ देखि सुरु भएको यस साताव्यापी सचेतना कार्यक्रममा अहिलेसम्म करिब ६ हजार सेवाग्राहीहरूले सेवा लिइसकेका छन् । यस प्रतिष्ठानले हरेक वर्ष ४ पटक जल विन्दु सम्बन्धी बिरामीलाई शिक्षा दिने उद्देश्यले कक्षा सञ्चालन गर्दै आएको छ । जल बिन्दुको बिरामीले कम्तीमा ६–६ महिनामा जाँच गर्नुपर्ने हुन्छ । अशक्त तथा आर्थिक अवस्थाको कारणले गर्दा उपचारबाट वञ्चित हुन परेको बिरामीहरूको प्रतिष्ठानकै जलविन्द सपोर्ट ग्रुपले निःशुल्क जाँच तथा उपचार गर्ने गरेको छ ।

जलविन्दुु युुनिटका प्रमुुख तथा जलविन्दुु विशेषज्ञ डा. इन्दिरा पौडेलका अनुसार , “ हाम्रो आँखाको गेडी भित्र मध्य भागमा एक प्रकारको पानी जस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ । यदि एक युसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको तरल पर्दाथ आँखाको गेडी भित्र नै थुनिइ आँखा भित्रको चापमा वृद्धि भई जल बिन्दु भन्ने रोग लाग्दछ । आँखा भित्रको चापमा वृद्धि भई दृष्टि नशालाई नराम्रो असर पारी दृष्टि क्षमतालाई पछिबाट उपचारै नलाग्ने गरी दृष्टिविहीन बनाउने रोगलाई जल विन्दु भनिन्छ । विश्वभरिमै दृष्टिविहीन गराउने प्रमुख रोगहरू मध्ये यो दोस्रोमा पर्दछ ।

यो रोग विशेष गरेर परिवारमा कसैलाई जल बिन्दु छ भने वंशाणुगत रूपमा ,४० वर्ष उमेर भन्दा माथकालाई, बढी पावर र माइनस पावर भएकोलाई, आँखामा चोट लागेको छ भने त्यस्ता व्यक्तिहरूलाई जल विन्दुको खतरा हुन सक्छ । धेरै लक्षण नहुने र सुटुक्क थाहा नै नदिई दृष्टि चोरेर लाने भएर यसलाई साईलेन्ट थिप अफ लाईट पनि भन्ने गरिन्छ । यसले बुढा बच्चा कोही भन्दैन जो कोहीलाई पनि लाग्न सक्छ । ”

अन्तराष्ट्रिय रूपमा १२ मार्च लाई विश्व जल बिन्दु दिवसको रूपमा मनाइन्छ भने मार्चको दोश्रो साता लाई जल बिन्दु सप्ताहको रूपमा मनाईन्छ । नेपालमा सन् २०११ मा गरिएको  द्रुत मूल्याङ्कनबाट बच्न सकिने अन्धोपन सर्वेक्षणका अनुसार कुल अन्धोपन मध्ये ५ प्रतिशत जल विन्दुको कारणले हुने गरेको देखाएको छ । यदि समयमै यसको पहिचान भई उपचार गर्न सकेमा रोकथाम गर्न सकिन्छ । ढिलो भएमा दृष्टि नै गुम्ने सम्भावना रहन्छ । त्यसैले समयमै जाँच तथा परिक्षण गर्नुपर्दछ ।

हाल जल विन्दुको अन्तराष्ट्रिय स्तरको सम्पूर्ण उच्च प्रविधिको उपचारहरु तिलगंगामा उपलब्ध छन् । यस सम्बन्धी थुप्रै अध्ययन अनुसन्धानहरू भइरहेका छन् । साथै यस सम्बन्धी विभिन्न मुलुकबाट तालिम तथा शिक्षाको लागि मेडिकल विद्यार्थीहरु आउने गरेका छन् । जल विन्दु पुनःदृष्टि प्राप्त गर्न नसकिने अन्धोपना हो । ४० वर्ष माथिको उमेर समुहमा प्रत्येक २०० मा १ जनालाई जल विन्दु हुन्छ जुन ८० वर्षको उमेर भित्रमा प्रत्येक ८ जनालाई हुने गर्दछ ।

वृद्ध, महिला र अल्पसंख्यक समुह यसको बढी जोखिममा छन् । परिवारमा कसैलाई जल विन्दु छ भने वंशानुगत रूपमा परिवारको सदस्यलाई हुने सम्भावना अधिक हुन्छ ।

विश्वको अवस्था

सन् २०४० सम्म ११ करोड १८ लाखलाई जल विन्दु हुने अनुमान गरिएको छ ।
९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ ।
१ अर्ब आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् ।
(तिलगंगा आँखा प्रतिष्ठानले उपलब्ध गराएको स्रोत सामग्रीमा आधारित । )

प्रतिक्रिया दिनुहोस्