शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल



गोरखा।

गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ ।
आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर ती पुरुषको मलद्वारबाट बोत्तल निकालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सिद्धार्थ खनालले जानकारी दिए ।

‘उहाँको मलद्वारमा एक महिना अघिदेखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको रहेछ’, निमित्त मेडिकल सुपरिटेन्डेन्ट खनालले भने, ‘अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको रहेछ । करिब ३ घण्टाको अप्रेशन पश्चात हामी बोत्तल निकाल्न सफल भयौं ।’
ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७।५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए । ‘बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको रहेछ, हामीले त्यो पनि सफा गरिदियौं’, खनालले भने ।

उनले बोत्तल कसरी मलद्वारभित्र अड्कियो भन्ने विषयमा आफूहरुले जानकारी लिइरहेको बताए । सर्जन डा। जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा। शम्भु अधिकारीको टिमले ती बिरामीको सफल शल्यक्रिया गरेका हुन् । बिरामीको हाल आइसियु कक्षमा राखेर उपचार भइरहेको छ ।

यसअघि यस्तै केश रौतहट र कैलालीका दुई जना पुरुषमा देखिएको थियो । उनीहरुको मलद्धाराबाट रक्सीको बोतल छिराइएको थियो । दुबै जनाको शल्यक्रिया गरि बोतल निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्