घाम आउँछ सार्वजनिक



ख्यातिप्राप्त हास्यव्यग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले आईतबार राजधानीमा आयोजित एक समारोहबीच गीतकार बासुदेब अधिकारीको नयाँ गीति एलबम घाम आउँछ छायाँ दिन्छको सार्वजनिक गरेका छन्।

कार्यक्रममा हरिवंशले मदनकृष्णको सँगतले आफु पनि गायक भएको बताए। आचार्यले समय अनुसार गीत परिवर्तन भएको चर्चा पनि गरे। नयाँ पुस्तामा एक थरीका गीत राम्रा आएको र अर्का थरीका गीतकारले गीतको नाममा जे पनि लेख्ने गरेको बताए। दुई दुशक अघि आफु राष्टझ बैंकबाट निष्कासित भएपछि बासुदेब राष्ट्र बैंकमा जागिरे भएको स्मरण पनि उनले सुनाए। नौ गीत संगृहित एलबमका सबै गीत शब्द र गायनका हिसावले राम्रो रहेको मदनकृष्णले बताए। ‘हिजोआज गीतको नाममा जे पनि गाउने क्रम बढेको छ। तर बासुदेबजीले लेख्नु भएका गीत निकै राम्रा रहेछन्’ मदनकृष्णले भने।

कार्यक्रममा एलबममा रहेको नौमध्ये एक गीत सास रैछ सासको भिडियो पनि सार्वजनिक गरियो। साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको भिडियोमा उत्तम केसी, भिमा मैनालीलगायतका कलाकारले अभिनजय गरेका छन्। मधुकर लोहनीले संगीत गरेको यो गीतलाई सँजय तुम्रुकले गाएका हुन्।

एलबममा संगृहित माटो पार्खिँदैछ, रोल्वालिङ खोली, सुन साथी, बुद्ध बन, साउने झरी, खरी झर्यो, समय छ, घाम छायाँ बोलका गीतमा मधुकर लोहनी, विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समालको संगीत छ भने मधुकरसँगै राजेश पायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र बिक्रम थापा र बलराम समालले गाएका छन्।

बासुदेबले बिगतमा विभिन्न कविता संग्रह ल्याए पनि घाम आउँछ छायाँ दिन यतीबेला बजारमा ल्याएको बताए। उनका गीतहरुमाथि गीतकार डा. कृष्णहरि बराल, सँगीतकार शिलाबहादुर मोक्तान, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईलगायतले समीक्षा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्