विन्ध्यवासिनी सम्मानका लागि सिफारिस



विन्ध्यवासिनी फाउन्डेसनले विन्ध्यवासिनी म्युजिक अवार्डलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। फाउन्डेसनले आगामी चैत्र २६ गते राजधानीमा १२औं विन्ध्यवासिनी म्युजिक अवार्ड आयोजना गर्ने भएको हो।

फाउन्डेसनले शनिबार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आठौं वार्षिक भेला आयोजना गरी विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८ मा प्रदान गर्ने विभिन्न सम्मानको घोषणा गरेको छ। भेलामा सल्लाहकार समितिसँगको छलफलपछि विभिन्न सम्मानका संयोजक गीतकार दिनेश अधिकारीले नगद एक लाख रुपियाँ राशीको यस वर्षको विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७८ गीतकार विश्व बल्लभलाई प्रदान गर्न सिफारिस गरिएको घोषणा गरे।

त्यसैगरी, ५० हजार रुपियाँ राशीको विन्ध्यवासिनी संगीत साधना सम्मान २०७८ बाट लोक तथा आधुनिक गायिका तारा थापालाई सम्मानित गर्न सिफारिस गरिएको अधिकारीले घोषणा गरे। उनले २५ हजार रुपियाँ राशीको संगीत रत्न सम्मानका नाममा प्रदान गरिँदै आएको सम्मान यस वर्षबाट फाउन्डेसनका सल्लाहकार तथा गायक प्रेमध्वज प्रधानको नामबाट प्रदान गर्न सिफारिस गरिएको जनाउँदै सो सम्मान गायक अजर जंगमलाई प्रदान गर्न सिफारिस गरिएको बताए।

त्यसैगरी, पत्रकारिता सम्मानका संयोजक पत्रकार विदुर गिरीले २५ हजार रूपियाँ राशिको विन्ध्यवासिनी कला पत्रकारिता सम्मान पुरस्कार २०७८ पत्रकार श्याम स्मृतलाई प्रदान गर्न सिफारिश गरिएको घोषणा गरे। फाउन्डेसनले हरेक वर्ष विभिन्न सम्मानबाट सम्मानित भइसकेका सम्बन्धित सर्जकहरूको भेला गराएर उनीहरूबीच छलफल चलाई सम्मानको निर्णय गराएर उनीहरूको सिफारिसअनुसार सम्मानको घोषणा गर्दै आएको छ।

भेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले अन्य अवार्डको तुलनामा विन्ध्यसिनीको अवार्डको गरिमा छुट्टै रहेकाले त्यसलाई निरन्तरता दिन सुझाए। ‘केही प्रतिष्ठित अवार्डबाहेक अधिकांश अवार्ड बिक्री र व्यापारका लागि भइरहेका छन्, जसको हाकाहाकी मोलतोल हुन्छ र अवार्ड लिने तथा दिनेबीच सम्झौता हुने गरेको छ। यस्तो कामबाट विन्ध्यवासिनी बच्नुपर्छ। आजसम्म कायम गरेको सम्मानलाई निरन्तर कायम गर्नुपर्छ’ उनको भनाइ थियो। रोयल्टी संकलन समाजका महासचिव बी. पाण्डेले अवार्डको गरिमा विस्तारै खस्कँदै गएको वर्तमान समयमा विन्ध्यवासिनी अवार्डले पुरानो पहिचानलाई बचाइराख्ने विश्वास व्यक्त गरे।

विन्ध्यवासिनी फाउन्डेसनका सुवास रेग्मीले विभिन्न प्रहारका बीच निष्पक्ष र धाँधलीरहित रूपमा अवार्ड गर्न आफूहरू प्रतिबद्ध रहेकाले त्यसमा शंका नगर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्