डीएभीमा लताको सम्झना



डीएभी सुशील केडिया विश्व भारती विद्यालयले महान् भारतीय गायिका लता मंगेसकरको सम्झनामा श्रद्धाञ्जलि सभा आयोजन गरेको छ। कार्यक्रममा लताको जीवनी दर्शाउने वृत्तचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि गायिका मनिला सोताङ र विशिष्ट अतिथि गायिका सम्बबिता मानन्धरले लताको समर्पणमा सांगीतिक प्रस्तुति दिएका थिए।

विद्यालयका अध्यक्ष अनिल केडियाले लता मंगेशकर भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रूपमा स्थापित रहेको चर्चा गर्दै लताप्रति समर्पित सांगीतिक प्रस्तुति प्रस्तुत गरे। त्यस्तै, विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले लता स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको र उनी एक सांगीतिक विश्वविद्यालय रहेको चर्चा गरिन्।

सोही अवसरमा प्राथमिक विद्यालय तहका विद्यार्थीले ब्यालेट नृत्य, निम्न माध्यमिक विद्यालयक तहका विद्यार्थीले नेपाली र हिन्दी फ्युजन नृत्य र माध्यमिक तहका विद्यार्थीले थेमेटिक नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी, संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङ्ग्रेजी शिक्षिका शशिल्ता राईले लताद्वारा गाइएका युगल गीत प्रस्तुत गरे।

कक्षा ९ की एरिका चौधरी र कक्षा ११ का सुमित श्रीवास्तवले गायिका लताका साथमा गायक रामकृष्ण ढकालद्वारा गाइएको गीत बाचुञ्जेलीलाई प्रस्तुत गरे। विद्यालयले स्व. लताको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निणर्य गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्