आगामी शुक्रबार अर्थात् २० फागुनबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
अभिनेता अर्पण थापाले कोरोना महामारी पश्चात फिल्म रिलिजको लागि थोरै समय बाँकी रहेकाले पनि फिल्मलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्याउन चुनौती रहेको बताए । निर्देशक मुकुन्द भट्टले फिल्म पहिलो संस्करणभन्दा १० गुणा राम्रो बनेको दाबी गरे ।
उनले फिल्मको पहिलो भागले दर्शको राम्रो साथ पाएपनि आफु सन्तुष्ट नभएका कारण आफुने आफु र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो भाग निर्माण गरेको खुलाए ।
फिल्ममा अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराब राजनीतिज्ञको भुमिकामा प्रस्तुत भएका छन् । उनले आफ्नो ४० वर्षे फिल्मी करियरमा पहिलो पटक फरक र चुनौती पुर्ण भुमिका निवार्ह गर्ने अवसर पाएको बताए ।
नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।
खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । फिल्ममा निर्देशक भट्ट र सुनील नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बासकोटा, राजेन्द्र भट्ट(मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।
फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चीनियाँ गरी ६ भाषमा रिलिज हुनेछ । किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसी र सिमोन तामाङको द्वन्द्व र मिलन श्रेष्ठको सम्पादन छ ।
गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरी निर्माण गरेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता तथा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता छन् ।
प्रतिक्रिया