पलले आफैं तनहुँ आएर प्रहरीसामु गरे आत्मसमर्पण

७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



तनहुँ ।

बरजस्ती करणीको अभियोग लागेका नायक पल शाहले राजधानीबाट तनहुँ आएर आइतबार आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएर आत्मसमर्पण गरेपछि प्रहरीले पललाई तनहुँ जिल्ला अदालतमा हाजिर गराएर हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद थप गराएको छ।

एक नाबालिग गायिकामाथि जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीले शाहविरुद्ध आइतबार अदालतबाट म्याद थप गरेको हो। म्याद थपका लागि प्रहरीले शाहलाई साँढे ३ बजे अदालत पुर्याएको थियो। घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी गराए।

‘सात दिनको म्याद थपिएको छ, हिरासतमा राखेर अनुसन्धान गरिनेछ, अनुसन्धानका लागि प्रमाण जुटाउन समय अभाव भएमा पुनः म्याथ हुनेछ’ तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी गराए ‘२५ दिनभित्र प्रहरी हिरासतमा रहने समय हुनेछ भने सो समयावधिभित्र अनुसन्धान पूरा गर्नुपर्ने हुन्छ।’

शाहले आइतबार दिउँसो १२:११ बजे तनहुँ प्रहरी कार्यालयमा आत्मसमपर्ण गरेका थिए। त्यस अगावै शाहले प्रहरीमा उपस्थित हुने बताएका थिए। प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते १७ वर्षीया गायिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको थियो। पीडितका परिवारले नायक शाहले २०७८ वैशाख १४ गते लाइफकाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। त्यस्तै, २०७७ पुस १० गते पोखरा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

कानुनलाई सघाउँछु, घर व्यवहार मिलाउँदा समय लाग्यो : पल
पलले कानुनलाई सघाउन आफैं प्रहरीसमक्ष पुगेर आत्मसमर्पण गरेको बताएका छन्। राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा बस्दै आएका पलले आफूविरुद्व एक नाबालिग गायिकाले जर्बजस्ती करणीको जाहेरी दिएको केही दिनपछि तनहुँ पुगेर आइतबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।

‘सबैले भन्नु भा रैछ किन कहाँ गयो, के गर्यो, के छ अवस्था? ढिला किन गरेको भन्ने कारण भन्न चाहन्छु। घर व्यवहार पनि मिलाउनु थियो र मेरो स्वास्थ्य स्थिति पनि कमजोर थियो। म प्रहरीसामु पुगेपछि, सरेन्डर गरेपछि जे पनि अवस्था आउन सक्छ घरमा। घरमा व्यवहार मिलाउनुपर्यो। किनभने गार्जेन भनेकै म एक्लै हो घरमा। बुबा, ममी, बहिनी सबैको गार्जेन नै म एक्लो हो। सबै मिलाउँदा समय लाग्यो। त्यही भएर म रेस्पेक्टड नेपाली पुलिससामु उपस्थित हुन सकिनँ। यसको लागि म माफी चाहन्छु। मैले गर्दा कतिलाई अप्ठ्यारो गाह्रो पर्या छ भने आई एम स्ट्रिमली सरी, यो लेट भको कारणले गर्दा’ पलले आत्मसमर्पण गर्नुअघि एक कोठामा बसेर खिचेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै भनेका थिए ‘तर, आज आइतबार नेपाली प्रहरी सामु आफूलाई सरेन्डर गर्दैछु र कानुनलाई आफ्नो तर्फबाट सघाउनेछु। मेरो साइडदेखि भको कुराहरू राख्नेछु र मसँग भको प्रमाणहरू पनि दिनेछु। म बेकसुर छु। डे वनदेखि नै मलाई फसाउँदै फसाउँदै यहाँसम्म ल्याइया छ, म त्यो पनि भन्नेछु सम्मानित अदालतमा।’

भिडियोमा उनले भनेका छन् ‘मेरो तीन चारदेखि एउटा सपना थियो, इच्छा थियो मेरो फिल्म म यस्तो गीत गाउँछु–२ दर्शकहरूसँग बसेर हेर्ने। मैले सुनेअनुसार फ्राइडे र स्याटर डे एकदमै राम्रो बिजिनेस भयो रे। मलाई एकदमै खुसी लाग्या छ। मेरो सपना थियो तपाईंहरू सँगसँगै बसेर फिल्म हेर्ने, त्योचाहिँ पूरा भएन। म प्रहरीसामु गएपछि त्यो पूरा होला नहोला, नहोला पनि। नेपाल सरकारलाई पनि म रिक्वेस्ट गर्न चाहन्छु एकचोटी चाहिँ यो बीचमा तपाईंहरूसँग बसेर मेरो फिल्म म यस्तो गीत गाउँछु २ हेर्न। त्यो सम्भव भयो भनेचाहिँ गरिदिनुहोला त्यही भन्न चाहन्छु। र नेपाली फिल्मलाई माया गर्नु भाछ र मलाई पनि माया दिईराख्नु भाछ। सम्मानित अदालतले जे निर्णय गर्नेछ, त्यसमा म खुसी हुनेछु। यति भन्न चाहन्छु म बेकसुर छु, म निर्दोष छु।’

नवलपरासीमा पनि जाहेरी दर्ता
नायक पल शाहविरुद्ध तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको किटानी जाहेरी दर्ता गराएका गायिकाका बुबाले आइतबार नवलपरासीमा पनि किटानी जाहेरी दर्ता गरेका छन्।
यसअघि, नाम परिवर्तन गरी तनहुँमा जाहेरी दर्ता गरेका पीडित गायिकाका बुबाले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा नाम नै खोलेर किटानी जाहेरी दर्ता गराएका हुन्।

पलले चितवन र नवलपरासीमा पनि ती नाबालिग गायिकालाई बलात्कार गरेको आरोप जाहेरीमा लगाइएको छ। पीडितका बुबाले जाहेरीमा समेत छोरीको नाम खोलेर उनीमाथि पलले जबरजस्ती मादक पदार्थ सेवन गराएर बलात्कार गरेको उल्लेख गरेका छन्।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा दर्ता गरिएको जाहेरीमा नाबालिका छोरीलाई प्रेम गरेको झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुरका आधारमा कारबाही गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्