अल नेपाल म यस्तो गीत गाउँछु २

यो एउटा व्यक्ति विशेषको सिनेमा होइन : सुदर्शन थापा



रोना महामारीका कारण लगाइएको कारण पटक–पटक रिलिज सरेको फिल्म म यस्तो गीत गाउँछु २ अन्ततः आज शुक्रबारदेखि अल नेपाल रिलिज हने भएको छ। रिलिजको पूर्वसन्ध्या पारेर बुधबार कीर्तिपुर सिनेप्लेक्समा फिल्मको प्रिमियर शो पनि गरिएको छ। प्रिमियर सोमा बिकाउ कलाकर्मीहरूको सहभागिता रहेको थियो। प्रिमियरमा फिल्म हेर्नेहरूले यसको प्रशंसा गरेका छन्। एक सुपरस्टार र एक उदीयमान गायिकाको प्रेमकथामा बुनिएको फिल्मप्रति प्रिमियरमा सकारात्मक प्रतिक्रिया आएको छ।

प्रिमियरमा पाएको प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक सुदर्शन थापाले बताए। ‘हामीले दर्शकमाझ एउटा उत्कृष्ट प्रेमकथा पस्किएका छौँ। अब यसलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी दर्शकको हो’ थापाको भनाइ थियो ‘जुन दिन हामीले मनकामनामा पूजा गरेका थियौँ, त्यही दिन यो फिल्मको भाग्य लेखिसकिएको छ। यसको भाग्यसित इन्डस्ट्रीको भाग्य पनि जोडिएको छ। संयोग भनौं, आजभन्दा तीन वर्षअघि लेखेको फिल्मको कथा आजको घटना (पलको घटना) सँग केही मिलेको छ।

तर, यो एउटा व्यक्ति विशेषको सिनेमा होइन, कुनै एउटा व्यक्तिबाट गल्ती भयो, सिनेमामा काम गर्नेहरू एक–एक हातको कुनै गल्ती छैन।’ फिल्मकी नायिका पूजा शर्माले पनि चलचित्र रिलिजको समयमा विभिन्न खालका समस्या उत्पन्न भए पनि दर्शकले माया गर्ने विश्वास व्यक्त गरिन्। ‘बुढापाकाले जोडी मनोकामना जान हुँदैन भन्थे, हो रहेछ। हुन त हामी (पल र म) लभ जोडी होइन, तर पनि पर्दामा देख्दा हामीलाई जोडी भनेर चिनिन्छ। हाम्रो टिमलाई टाउकोमै बज्रपात परेको छ। र पनि दर्शकबाट आश गरेको छु’ पूजाले भावुक हुँदै भनिन् ‘राम्रो फिल्म बनाउन हामीले धेरै नै कोशिस गरेका छौँ। पहिले लकडाउन भयो, अहिले आएर फेरि कसको नजर लाग्यो थाहा छैन। भविष्य के हुन्छ थाहा छैन। यो फिल्ममा आँखै लागेको हो भने म यो इन्डस्ट्रीबाट आउट नै हुनुपर्छ।’ लोकप्रिय अभिनेता दीपकराज गिरीले फिल्मले निराश नबनाउने बताए। ‘पूजा एन्ड कम्पनीको फिल्म भन्दा पनि मचाहि“ म यस्तो गीत गाउँछु नेपाली फिल्मले फेरि अब श्वास फेर्न शुरु गर्छ भन्नेमा विश्वस्त छु।

लभस्टोरी फिल्म मन पराउनेहरूका लागि, प्रेम, त्याग र समर्पण मन पराउनेहरूका लागि यो फिल्म सही हुन सक्छ। फिल्मले निराश बनाउँदैन। यसको कथा कसैको जीवनमा हुबहु मिल्न सक्छ, कसैको जीवनमा करिब–करिब मिल्न सक्छ’ गिरीले भने। उत्कृष्ट फिल्म दिँदै आएकी निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले म यस्तो गीत गाउँछु २ उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया व्यक्त गरिन्। ‘यसले नेपाली फिल्म क्षेत्रलाई नै चलायमान बनाउने छ। सुदर्शन थापाले प्रेमकथामा उत्कृष्ट फिल्म दिएका छन्’ फिल्म हेरेपछि दीपाश्रीको भनाइ थियो ‘फिल्म राम्रो भएकैले होला। बाहिर निस्किँदा सबैजना भावुक हुनुभयो।’ नायिका निरुता सिंहले पनि फिल्मको प्रशंसा गरिन्।‘फिल्म हेरेर म धेरैपटक रोएँ अनि धेरैपटक रोमाञ्चित पनि भएँ। फिल्मको कथावस्तु, मेकिङ र गीतसंगीत उत्कृष्ट छ। कलाकारको अभिनय बेजोड छ’ नायिका निरुता सिंहको भनाइ छ। सुदर्शन थापाद्वारा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाया, गणेश गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। सुदर्शन थापा प्रोडक्सनको प्रस्तुतिमा निर्देशक थापा र नायिका पूजा शर्माद्वारा निर्मित फिल्ममा निर्देशक सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

फिल्मका मुख्य कलाकार पल शाह आफूविरुद्ध एक गायिकाले तनहुँ प्रहरी कार्यालयमा बजरजस्ती करणीको जाहेरी दिएपछि विवादमा परेका छन्। जाहेरी परेकै कारण उनी अन्तिम समयमा प्रिमियरमा पनि सहभागी भएनन्। उनका कारण फिल्मलाई पर्न सक्ने प्रभावलाई हेरेर निर्माता निर्देशक थापाले फेसबुकमा स्ट्याटस लेखेका छन्– ‘जनता नै भगवान् हुन्।’

प्रतिक्रिया दिनुहोस्