गायक लामाको अन्त्येष्टि



ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बिहीबार बौद्ध परम्पराअनुसार राजधानीको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ। त्यसअघि, अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको थियो। कलाकर्मी, कलाप्रेमी तथा नेताहरूले नाचघर र स्वयम्भूमा पुगेर उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए।

उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न नाचघर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउँदै कलाकार भनेका राष्ट्रका गहना भएको बताए। ‘कलाकार लामाले देशलाई चिनाउने विभिन्न काम गर्नुभएको छ। उहाँले देशलाई अतुलनीय योगदान दिनुभएको छ, कलाकार भनेका राष्ट्रका गहना हुन्’ मन्त्री आलेले भने। देशमा हाल भइरहेका विभिन्न विकृति, विसङ्गति चिर्दै जाने र राष्ट्र, राष्ट्रियता जोगाउनका लागि कलाकारले खेलेका भूमिका निकै अहम् तथा महŒवपूर्ण भएको समेत मन्त्री आलेले चर्चा गरे। लामाले देशलाई चिनाउने गरी गरेका विभिन्न किसिमका सकारात्मक कुरा तथा कलाहरूलाई पहिल्याएर अघि बढ्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने मन्त्री आलेले बताए।

मंगलबार राति साथीभाइसँगको ‘सिटिङ’ सकेर आफैँ कार चलाई भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्म पुगेका लामालाई बुधबार बिहान करिब सात बजेतिर स्थानीय वासिन्दाले उनलाई आधा शरीर गाडीभित्र र आधा शरीर बाहिर रहेको मृत अवस्थामा देखेका थिए। उनको खुट्टा ब्रेकमा अल्झेको तथा गाडी पार्किङ गरेसँगैको पर्खालमा टाउको ठोक्किई रगताम्मे भएको घोप्टो अवस्थामा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्