यथास्थितिमा एमसीसी पास हुँदैन : अध्यक्ष नेपाल 

0
Shares

विमल विष्ट, डोटी ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथा स्थितिमा एमसीसीमा पास नहुने बताउनु भएको छ । कैलालीको धनगढीमा युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले एमसीसीले गर्दा हाम्रो देशको राजनितीमा सङ्कट पैदा आउने भएकाले एमसीसी पास गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई सरकार भन्दा पनि देश ठूलो हो, देशलाई नै सङ्कटमा पार्न सक्ने एमसीसीयथा स्थितिमा हामी पास गर्न सक्दैनौँ ।” यसै गरी अध्यक्ष नेपालले एमसीसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले एमसीसीसहमतिका आधारमा मात्रै पारित गर्नु पर्ने धारणा राख्नुभयो ।

एमसीसीका बारेमा गहन रूपमा पार्टीले अध्ययन गरेकाले नेपालमा कुनै पनि हालतमा इन्डो प्यासिपिक इस्टेटिजीको अङ्ग बन्न चाहँदैन, नेपाल कुनै पनि सैनिक गठबन्धनमा कसैको सुरक्षा रणनीतिको अङ्ग बन्न चाहँदैन, नेपालको भूमि छिमेकीहरूका विरुद्धमा प्रयोग हुन दिने कुरालाई नेपाल कहिले पनि स्वीकार गर्न सक्दैन, नेपाल स्वतन्त्र देश हो र हुन चाहन्छ, हामी नेपालमा सञ्चालन हुने परियोजनामा नेपालीले काम गर्न पाउनु पर्छ भन्ने आफ्नो पार्टीको मान्यता रहेको समेत अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले एमसीसीका विषयमा सबै राजनैतिक दलकाबीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले एमसीसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरू अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजवादीका मन्त्रीहरू एमसीसीका पक्षमा मत जाहेर गर्छन् भन्ने हल्ला चलाइएको छ, हामी पार्टीले जे निर्णय गर्छ, त्यही हाम्रो अन्तिम निर्णय हुने छ ।” यसै गरी मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको विकास र विस्तारका लागि आफू लागि परेको जानकारी दिनुभयो ।

धनगढी विमानस्थल सहित देशै भरीमा रहेका विमानस्थलहरूको स्तरोन्नतिका लागि मन्त्रालय हर हमेसा लागि परेको उहाँको भनाइ थियो । युवाहरू देशका खम्बा भएकाले युवाहरूले के सही के गलत छुट्ट्याउन सक्ने क्षमता राख्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरूका कारण नै देशको विकास र मुहार फेरिन्छ, युवाहरूले देशको विकास हुने कुरामा जोड दिनुपर्छ ।”