युक्रेनमा रुसी आक्रमण : दूतावास भन्छ – व्यवसायिक उडानबाट स्वदेश फर्कनु

0
Shares

सरस्वती कर्माचार्य, काठमाडौं ।

अमेरिकी दाबीलाई सत्य सावित गर्दै महिनौंको तनावपछि रुसले बिहीबार युक्रेनमा सैन्य आक्रमण गरेको छ । युक्रेन–रुस सीमा क्षेत्रबाट रुसी सेनाहरू युक्रेन छिर्ने कोशिस गरिरहेका छन् भने राजधानी किभमा पनि युक्रेनी सेनालाई निसाना साँध्दै गोलाबारी भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यम एएफपीका अनुसार १४ जना युक्रेनी सैनिक चढेको सैन्य जहाज राजधानी किभनजिकै रुसी आक्रमणमा परेको छ । बिहीबार साँझसम्म ४० युक्रेनी सेनाका साथै केही नागरिक ज्यान गुमाइसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । युक्रेनी सेनाले पनि करिब ५० जना रुसी सेना मारिएको र छ वटा रुसी युद्धविमान ध्वस्त पारिएको दावी गरेको छ ।

युक्रेनका विदेशमन्त्री डिमत्रो कुलेबाले सामाजिक संजाल ट्विटरमार्फत रुसले पूर्वी युक्रेनबाट नभई धेरैतिरबाट आक्रमण गरिरहेको जानकारी दिनुभएको छ । उहाँले ट्विट गर्दै भन्नुभएको छ–‘युक्रेनको प्रतिरक्षा प्रणाली ध्वस्त भएको छैन । युक्रेनी सेना लडिरहेका छन् र निरन्तर प्रतिरक्षा गर्नेछन् ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा ‘मार्सल ल’को घोषणा गर्दै सबै नागरिकहरूलाई युद्धको लागि तयार हुन आह्वान गर्नुभएको छ । उहाँले युक्रेनको जीत हुने दाबी गर्दै युद्धमा होमिन चाहने सबैलाई हतियार उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ ।

यसैबीच राजधानी किभबाट विदेशी नागरिकहरू सुरक्षित स्थानको खोजीमा बाहिरिन थालेका छन् । त्यहाँ रहेका नेपालीहरू भने अलमलमा परेको खबर प्राप्त भएको छ । २५ वर्षदेखि युक्रेनको राजधानी किभमा औषधी व्यवसाय गर्दै आएका महोत्तरीका रञ्जित शाह बुधबारसम्म शान्त रहेको किभमा बिहीबारदेखि अचानक युद्धको महोलले त्रसित अवस्था सिर्जना गरेको बताउनुहुन्छ । किभबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले स्थिति भयावह बनिरहेको र त्यहाँ रहेका नेपालीहरू अलमलमा परेका बताउनुभयो ।

उहाँले रुसी आक्रमण शुरु भएपछि ७–८ जना नेपालीले फोनमार्फत् आफूसँग सम्पर्क गरेको र उनीहरू डराएको अवस्थामा रहेको बताउनुभयो । किभमा स्थायी बासिन्दाका रुपमा चार परिवार नेपाली रहेका छन् भने रोजगारी र कामका सिलसिलामा युक्रेन पुगेका नेपालीहरूको संख्या ४ सयभन्दा बढी रहेको अनुमान गरिएको छ ।

यसैबीच जर्मनीमा रहेको नेपाली दूताबासले विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपाली नागरिकलाई त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेको घटनाक्रमको मूल्यांकन गरी अति आवश्यक परी त्यहीं रहनुपरेमा बाहेका उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन आग्रह गरेको छ । साथै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न पनि दूताबासले आग्रह गरेको छ ।

यद्यपी दूताबासले सम्पर्कमा आएकाहरूलाई स्वदेश फर्काउने व्यवस्था भने मिलाउनै बाँकी छ । दूताबासले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली दूताबासको सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी दिंदै आवश्यक परेमा दूताबासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसैगरी परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नागरिकहरूलाई संयमित भई बस्न तथा सबैले एकअर्काका साथै त्यहाँ रहेका गैर आवसीय नेपालीको संगठन र दूताबासमा सम्पर्क राख्न अनुरोध गरेको छ । साथै मन्त्रालयले त्यहाँ रहेका नेपाली नागरिकलाई युक्रेन सरकारले उपलब्ध गराउने ‘सेल्टर’को उपयोग गर्न पनि सुझाव दिएको छ ।

यसैबीच परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी युक्रेन संकटको समाधान कुटनीति र वार्ताद्वारा खोजिनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले राष्ट्रसंघको वडापत्रको पूर्ण पालना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै सम्बन्धित सबै पक्षलाई युद्ध रोकी हदैसम्मको संयमता अपनाउन अपिल गरिएको छ ।

अन्तर्राष्ट्रिय समुदायले पनि युक्रेनमाथि भएको आक्रमणमा चिन्ता व्यक्त गर्नुको साथै रुसको भत्सर्ना गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति पुटिनले मित्र राष्ट्रमा कुनै विश्वसनीय बहानाबिना नै आक्रमण गरेको टिप्पणी गर्दै रुसले युरोपमा युद्ध शुरु गरेको आरोप लगाउनुभएको छ ।

रुसले युक्रेनका निर्दोष जनतामाथि बम बर्ष भइरहेको टिप्पणी गर्दै उहाँले भन्नुभएको छ–‘हावा, समुद्र तथा जमिनबाट ठूलो आक्रमण भइरहेको छ । यो कुनै टाढाको देश होइन, जसको बारेमा हामीलाई थोरै थाहा होस् ।’ फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी आक्रमण इतिहासमै एउटा ‘टर्निङ प्वाइन्ट’ भएको टिप्पणी गर्दै फ्रान्स युक्रेनको पक्षमा उभिने बताउनुभएको छ ।

रुस्को सीमा जोडिएको इस्टोनियाले युक्रेनलाई समर्थन गर्दै हतियार पठाएर मद्दत गर्ने घोषणा गरिसकेको छ । त्यसैगरी लिथुआनियाले पनि संकटकालको घोषणा गर्दै आफ्नो सिमानाको रक्षा गर्न सेना पठाउने बताइसकेको छ ।