कीर्तिमानी आरोही निर्मल पुर्जा ‘पर्यटन सद्भावना दूत’ नियुक्त

0
Shares

विमल विष्ट, काठमाडौं ।

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुड्विल एम्बासडर फर नेपाल्ज टुरिजम) बन्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु भएको हो ।

बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मान समेत गरिएको थियो । मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहण यात्राको सम्मान गर्दै थप सफलताको शुभकामना दिनुभयो । उहाँले आरोही पुर्जालाई पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु आफ्नो कार्यकालको स्मरणीय काम मध्येकै एक रहेको उल्लेख गर्नुभयो ।

एकीकृत सााजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री आले सहित मन्त्रालयले निम्सलाई सद्भावना दूत नियुक्त गर्नु भएकोमा खुशी हुँदै धन्यवाद समेत दिनु भएको छ ।

आरोही पुर्जामार्फत नेपालको पर्यटन क्षेत्रको व्यापक प्रचार हुने र कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय फेरि माथि उठ्ने विश्वास रहेको मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाले थला परेको हाम्रो पर्यटन क्षेत्रको विकासका लागि हामीले कीर्तिमानी हिमाल आरोही निर्मललाई सद्भावना दूत नियुक्त गरेका छौँ, जसले गर्दा हाम्रो पर्यटन क्षेत्र माथी उठ्ने विस्वास पनि लिएका छौँ ।’

यस्तै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार महसुस गरेको बताउनु हुँदै आगामी दिनमा नेपाललाई विश्वसामु चिनाउन आफू सदैव लागि पर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई सद्भावना दूत नियुक्त गरेर नेपाल सरकारले थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्व सामु चिनाउन हरपल लाग्ने छु ।’  पर्वतारोही पुर्जाले सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर विश्व रेकर्ड कायम गर्नु भएको छ । आरोही पूर्जाले निर्माण गरेको ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री संसाभर चर्चित रहेको छ ।