‘नेवाः पहिचान स्थापित गर्न नेपाल भाषाको प्रवर्द्धन आवश्यक’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बागमति प्रदेशका पूर्व मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवाः पहिचानलाई स्थापित गर्न नेपाल भाषाको पठनपाठनका साथै प्रवर्द्धन आवश्यक भएकोमा जोड दिनुभएको छ ।

नेपाल भाषाको माध्यमबाट पठनपाठन हुने पहिलो विद्यालय जगत सुन्दर ब्वनेकुथि माध्यामिक विद्यालयको ३२ औं वार्षिक समारोहको अवसरमा आयोजित कार्यक्रममा पूर्व मूख्यमन्त्री शाक्यले भाषाको माध्यमबाट मात्रै पहिचान सुनिश्चित हुने विचार व्यक्त गर्दै नेवा संस्कृतिको जगेर्नाको लागि पनि नेपाल भाषामा पठनपाठन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा उहाँले नेपाल भाषाको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका निभाइरहेकोमा विद्यालयको प्रशंसा गर्दै विद्यालयलाई सांसद कोषबाट १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा यो वर्षको एसइइ परीक्षामा नेपाल भाषामा सबैभन्दा धेरै अंक ल्याएर उतीर्ण हुने सदिक्षा महर्जनलाई दुई हजार रुपैयाँ राशीको शान्ति मानन्धर पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

सदिक्षाले नेपाल भाषामा सबैभन्दा धेरै अंक ल्याएर एसइइ उतीर्ण गर्ने विद्यार्थीलाई प्रदान गरिने अर्को पुरस्कार विरञ्चि नारायण मोतीमाया मानन्धर पुरस्कार पनि प्राप्त गर्नुभएको छ । पुरस्कारको राशी ५ हजार रुपियाँको रहेको छ । कार्यक्रममा २५ वर्ष सेवा अवधी पुगेका शिक्षिका रोशना शाक्य र चाँदनी प्रधानलाई सम्मान गरिएको थियो ।