५ वर्षमा १० किमी सडक निर्माण

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिकामा नगरपालिका स्थापना भएपश्चात् ५ वर्षको अवधिमा अहिलेसम्म जम्मा १० किलोमिटर पक्की सडक बनेको छ । संघीय तथा प्रदेश सरकारबाट कुनै योजना र अनुदान नपाएको यस नगरपालिकाले आफ्नै स्रोतबाट उक्त सडक निर्माण गर्न सम्भव भएको हो । अहिले चापाकोट नगरपालिका भित्रका कच्ची सडकलाई पक्की बनाउने अभियानमा नगर लागेको छ ।

कच्ची सडक सञ्जालले सबै वडामा जोडिएको चापाकोट नगरपालिकालाई अब पक्की सडक सञ्जालले जोड्ने तयारीमा नगरपालिका लागेको हो । पाल्पा र तनहुँको सिमानामा रहेको यो नगरपालिका उर्वराभुमीको रूपमा समेत चिनिन्छ ।

चापकोट नगरपालिकाको केन्द्र सम्म आउन र जान सबै वडावासीलाई सहज बनाउने उद्देश्यले पक्की सडक सँग जोड्ने कामको थालनी गरेको नगर प्रमुख शिवकुमार गिरीले बताउनुभयो । नागरिकले उत्पादन गरेको बस्तु सहज रूपमा ओसार पसार गर्न सडक एक महत्त्वपूर्ण माध्यम भएकाले नगरपालिकाले पक्की सडक बनाउन जोड दिएको उहाँले बताउनुभयो ।
गत स्थानीय तहको निर्वाचन हुँदा चापाकोट नगरभित्र कतै पनि पक्की सडक थिएन ।

अहिलेसम्म चापाकोट नगरभित्र झण्डै १० किलोमिटर पक्की सडक बनिसकेको जानकारी नगर प्रमुख गिरीले दिनुभयो । असार मसान्तभित्र सकिने गरी निर्माण हुन लागेको १५ सय मिटर पक्की सडकको शिलन्यास गर्दै नगर प्रमुख गिरीले विगतका संघिय र प्रदेश सरकारले सहयोग गरेको भए अहिले नगरभित्रका सबै सडक पक्की बन्ने दाबी गर्नुभयो ।

२ करोड ७६ लाखमा निर्माण हुन लागेको कालोपत्रे सडकले दार्सिङ्का जनतालाई चापाकोट केन्द्र पुग्न सजिलो हुनेछ । नगरपालिकाको कृष्णपुरबाट समीभञ्याङ, डोँडे हुँदै दार्सिङ् जाने सडकलाई कालोपत्रे बनाउन संघिय योजना आयोगको समपूरक अनुदानबाट सम्भव भएको गिरीको भनाई छ ।

यो नै संघीय योजनाबाट सडक कालोपत्रेका आएको पहिलो योजना भएको गिरीको गुनासो छ । नगरपालिका र संघिय योजना आयोगको सहयोग यो सडकमा रहेको छ उहाँले भन्नुभयो, ‘यसबाट चापाकोटका जनता मात्रै होइन हरिनास र बिरुवा गाउँपालिकाका जनता पनि लाभान्वित हुनेछन् ।’

नागरिकको आवश्यकता र सहजतामा स्थानीय सरकार सदैव रहको गिरीको दाबी छ । सडककै असुविधाका कारण धेरै नगरवासी तराई तिर झर्ने वा सहर बजारतिर बसाई सर्ने प्रचलनलाई रोक्न नगरपालिकाले कच्ची सडकलाई स्तरोन्नति गर्नेतर्फ लागेको हो ।

सडकको सहज पहुँच, शिक्षा स्वास्थ्यको राम्रो सुविधा भएपछि चापाकोट नगरपालिकाबाट बसाई सराइमा समेत कमी आएको चापाकोट एफएमका प्रबन्धक रामप्रसाद भट्टराईले बताउनुभयो । पछिल्लो समय नागरिकहरू सुविधा भोगी हुन थाले प्रबन्धक भट्टराईले भन्नुभयो, ‘स्थानीय सरकार आएपछि चापाकोटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रमा स्तरोन्नति भएको छ ।’ जसले गर्दा बसाई सर्ने क्रममा कमी भएको उहाँको भनाई छ ।