कानुन मन्त्री बडूको घरमा विप्लवको कालो झण्डा, प्रहरी बेखबर

0
Shares

न्युज अफ नेपाल, दार्चुला ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् । एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए ।

मन्त्री बडूको दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका-५ नमस्कारमा रहेको घरमा कालो झण्डासहित ब्यानर टाँगेर एमसीसीको विरोध गरेको उनको भनाइ छ । बडूको घरमा टाँगिएको ब्यानरमा दलाल मन्त्री मुर्दावाद, एमसीसी खारेज गर लगायतका नारा लेखिएको छ ।

विप्लवका कार्यकर्ताहरूले मन्त्री बडूको घरमा कालो झण्डा राखेको विषयमा प्रहरी बेखबर रहेको छ । त्यस सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । विप्लवका कार्यकर्ताहरूले बिहीबार दार्चुला सदरमुकाम खलंगामा पनि एमसिसिको विरोधमा प्रर्दशन गरेका छन् ।