कीर्तिमानी आरोही पुर्जा ‘नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत’ नियुक्त

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज  टुरिजम्)  बनेका छन् ।  बिहीबार एक कार्यक्रम गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेका हुन् ।

मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहण यात्राको सम्मान गर्दै थप  सफलताको शुभकामना दिए । उनले आरोही पुर्जालाई  पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु आफ्नाे कार्यकालको स्मरणीय काम मध्येकै एक रहेको उल्लेख गरे ।

उनले आरोही पुर्जामार्फत नेपालको पर्यटन क्षेत्रको व्यापक प्रचार हुने र कोरोना महामारीका कारण थलिएको पर्यटन  व्यवसाय फेरि माथि उठ्ने विश्वास रहेको बताए ।

यस्तै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफूलाई तथा जिम्मेवार महसुस गरेको बताए । उनले आगामी दिनमा नेपाललाई विश्वसामु चिनाउन आफू लागि पर्ने समेत बताए ।

पर्वतारोही पुर्जाले सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन् । आरोही पूर्जाले निर्माण गरेको ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री संसाभर चर्चित छ ।