त्यसपछि आँसु रोकिएनन्…

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हुन त अर्कै स्थानीय निकाय । तर, केही स्थानीयको दुःख प्रत्यक्ष देखेपछि मर्माहत हुनुभएका हेटौंडा उपमहानगर प्रमुख जब छाप्रो छाउने जस्तापाता र फलामे डण्डी लिएर हेटौंडाबाट करिब ४० किमी पर पुग्नुभयो, तब स्थानीय परिवारका आँखा रसाए ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका र चितवनको राप्ती नगरपालिकाको सिमानामा पर्ने मनहरीको हात्तीदाँत गाउँमा पुगेर हेटौंडाका मेयरले जस्तापाता प्रदान गरेपछि स्थानीयले सपनाझैं महसुस गरे । केही महिनाअघि हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत त्यही गाउँमा पुग्नुभएको थियो, जहाँ चेपाङ परिवारको अवस्था देखेपछि उहाँको मन भक्कानियो ।

चेपाङको अवस्था भने साह्रै दयनीय देखेपछि मेयर महतले ४ परिवार चेपाङको घर बनाउन सहयोग गर्ने योजना बनाउनुभयो । र, त्यही योजनानुसार ती परिवारका लागि ७६ थान जस्तापाता र फलामका पाइप गाडीमा राखेर बुधबार गाउँ पुग्नुभएको थियो । जस्तापाता लिएर उहाँ गाउँ पुग्दा चेपाङ बृद्धका आँखाबाट खुशीका आँशु झरेका थिए । जंगली कन्दमुल गिठ्ठा र भ्याकुरको भर पर्नुपर्ने समयमा राम्रा घर बनाउनु त परैको कुरा थियो उहाँहरुका लागि ।

चेपाङ परिवारका घर खरले छाएका, अत्यन्त जीर्ण देखिन्छन् । सानो छाप्रो, त्यसमा पनि घामपानी दुवै छिर्ने । त्यही घरमा बस्ने चेपाङ परिवारलाई शरीर ढाक्ने कपडा लगाउन मुस्किल छ । बृद्धदेखि बालबालिकासम्मको अवस्था उस्तै छ ।

छाप्रोमा अब फलामका पाइपका टेको र जस्तापाताले छाएर बस्न पाउने भएपछि स्थानीय प्रेमबहादुर प्रजा निकै खुशी देखिनुभयो । ‘जीवनमा जस्ताले छाएको घरमा बस्न पाइन्छ भन्ने लागेको थिएन । तर, हेटौंडाका मेयरले जस्तापाता लिएर घरआँगनमा आउँदा आँशु थाम्नै सकिएन,’ स्थानीय पुतलीमाया प्रजाले भन्नुभयो ।

घर निर्माणका लागि प्राप्त जस्तापाता र फलामका डण्डीबाट अब काम सुरु गरिने स्थानीय सुबी प्रजा बताउनुहुन्छ । अनकन्टार ठाउँमा बस्दै आउनुभएका उहाँहरुले हालसम्म कुनै संघसंस्थाको सहयोग पाउनुभएको थिएन । आर्थिक विपन्नताका कारण ती चेपाङ परिवारलाई दैनिक छाकटार्न धेरै समस्या रहेको देखिएको छ ।
‘उहाँहरुका लागि सहयोग गर्ने कोही नदेखेपछि सहयोग गरिएको मेयर महत बताउनुहुन्छ । हरेक घरका बालबालिकालाई विद्यालय पु¥याउन विद्यालय सामग्री सहयोग गरिनेछ,’ मेयर महतले भन्नुभयो ।