चिट्ठीलाई शिव ताण्डव



एरा प्रोडक्सन प्रालिको ब्यानरमा निर्माणाधीन फिल्म चिट्ठीका लागि शिवताण्डव गीत रेकर्ड गरिएको छ। संगीतकार राजेन्द्र बजगाईंको संगीत संयोजन र वसन्त अर्यालको स्वर रहेको ताण्डव गीत सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो।

माधवराज खरेलको लेखन र निर्देशनमा निर्माणाधीन चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा छ। फिल्मको छायांकनको लगभग ७० प्रतिशत सकिएको र अब ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताए। फिल्म छायांकनका क्रममा नायक सञ्जित भण्डारी घाइते भएपछि केही समयका लागि छायांकन स्थगित गरिएको उनले जानकारी गराए। ‘चिट्ठी हसाउँदा हसाउँदै रुवाउने र डराउँदा डराउँदै हसाउँने अनौठो किसिमको शैली छ। पक्कै पनि दर्शकले चिट्ठीलाई माया गर्नुहुनेछ भन्नेमा विश्वस्त छु’ भण्डारी भन्छन्।

फिल्मको छायांकनको काम रोकिए पनि सम्पादन र बाँकी गीत रेकर्ड गराउने काम भइरहेको छ। यसअघि, गायिका केन्जुमा सुब्बाको स्वर, कमला जोशीका शब्द र जुगल डंगोलको संगीतमा हर धड्कनमा बोलको गीत रेकर्ड गरिएको थियो भने डा. कृष्णहरि बरालको शब्दमा टुटेको तारा बोलको गीत शिव परियारको स्वर र सरोज कोइरालाको संगीतमा रेकर्ड गराउने तयारी भइरहेको निर्मात्री कमला जोशीले जानकारी गराइन्।

फिल्ममा संजीतका अलवा गोपाल ढकाल ‘छन्दे’, कञ्चन चालिसे, खड्ग बहादुर पुन (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापालगायतका कलाकारले अभिनय गरेका छन् भने जीवन पराजुलीको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्