ड्रेस टु इम्प्रेसमा चार डिजाइनरलाई उपाधि



डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ड्रेस टु इम्प्रेसमा यसपटक चार जनाले उपाधि चुमेका छन्। हालै राजधानीमा सम्पन्न ड्रेस टु इम्प्रेसको चौथो संस्करणमा यसपटक विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो।

इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी)द्वारा आयोजित डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनीता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्विन र अमृता गिरीले माउन्टेनियरिङ चुमे। विजेता चारै जनाले आईआईएफटीको तर्फबाट जनही नगद १५ हजार रुपियाँ प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित बज्र ननिताज फिटनेश क्लबको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाएका छन्।

चौथो संस्करणमा आईआईएफटीमा फेसनमा डिप्लोमा कोर्ष पूरा गरेका एक सय ४४ जना डिजाइन सहभागी थिए। तीमध्येबाट चार जनाले उपाधि जितेका हुन्। ड्रेस टु इम्प्रेस सिजन चारका लागि हिडन टझेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, फेसन डिजाइनर युबी थापा, बुटिक एसोसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ र महेश महर्जन निर्णायक रहेका थिए।

राजधानीको बागबजार र ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले आफ्नो कलेजका विद्यार्थीहरुका लागि चार वर्षअघि ड्रेस टु इम्प्रेस शुरु गरेको आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए। यसअघि, ड्रेस टु इम्प्रेसमा तीन जनाले उपाधि जितिसकेका छन्। सिजन – १ मा सोनी श्रेष्ठ, सिजन – २ मा महेश्वरीनाथ योगी र ३ मा क्युटी शाक्यले उत्कृष्ट डिजाइनरको उपाधि जितेका थिए।

तर, यसपटक भने थिमको आधारमा पुरस्कृत गरिएको शेर्पाले बताए। प्रतियोगिता नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्