अधिवेशनको डेढ महिनापछि शपथ

0
Shares

 मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सोमबार शपथ खुवाइएको छ । निर्वाचन समितिका संयोजक ईश्वर शर्मा बन्जाराले अध्यक्ष अशोक ब्याञ्जुलाई शपथ गराएसँगै अध्यक्ष ब्याञ्जुले अन्य पदाधिकारी र सदस्यहरूलाई शपथ गराउनु भएको थियो ।

एमाले काभ्रेको अधिवेशन पौष २३ गते शुरु भई २६ गते समापन भएको थियो । शपथ कार्यक्रमसँगै एमाले काभ्रेको पहिलो बैठक बसी विभिन्न निर्णयहरू गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनु भयो । ‘पहिलो बैठकले अधिवेशन सम्पन्न गर्नेहरूलाई धन्यवाद दिनुका साथै विभागहरूको गठन, इन्चार्ज तथा सह इन्चार्जहरू र अन्य जिम्मेवारी तोक्ने निर्णय गरेको छ’–अध्यक्ष ब्याञ्जुले भन्नुभयो–‘एमालेको समग्र ध्यान आगामी वैशाख ३० गते हुने स्थानी य तहको निर्वाचनका लागि केन्द्रित गर्ने निर्णय भएको छ ।’

एमाले काभ्रेको अध्यक्षमा ब्याञ्जु, उपाध्यक्ष प्रदेश सभा पूर्व मन्त्री चन्द्र लामा, सचिव राजन भुर्तेल र उपसचिवमा राजकुमार सापकोटा र रिता ढकाल निर्वाचित भएका थिए । पहिलो पटक एमालेले काभ्रेमा विद्युतीय मेशिन मार्फत लोकतान्त्रिक विधि मार्फत मतदान गराएको थियो ।

शपथ कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटा, केन्द्रीय कमिटी सदस्य रेशम लामा, प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो ।

सत्ता गठबन्धनका कारण मुलुकमा सिर्जित समस्या तथा नागरिकहरूका अधिकार प्रति भइरहेको कुठाराघात, मूल्यवृद्धि, अराजकताको अन्त्यका लागि एमालेले तीनै तहका निर्वाचनमा विजयी हासिल गर्नु पर्ने नेताहरूले बताएका छन् ।

बैठकले एमालेको जिल्ला अधिवेशनमा निर्वाचित भई शपथ नै गर्न नपाई निधन भएका एमाले नेता जगन्नाथ अधिकारीको निधन प्रति शोक व्यक्त गरेको थियो । एमालेको जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियो । उद्घाटनमा एमालेले जिल्लाकै सबै भन्दा ठुलो उपस्थिति गराएको थियो ।